धनगढी, ३० असोज / सुदूरपश्चिममा पहिलोपटक एमबीबीएस पढाइ हुने भएको छ ।
कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले शैक्षिक सत्र २०८३/८४ मा एमबीबीएस अध्यापनका लागि ५० सिट पाएको छ । चिकित्सा शिक्षा आयोगले विश्वविद्यालयमा एमबीबीएस कार्यक्रम सञ्चालन गर्न ५० सिट निर्धारण गरेसँगै सुदूरपश्चिममै चिकित्सक उत्पादन गर्ने वर्षौंदेखिको प्रतीक्षा पूरा हुने बाटो खुलेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको सिट निर्धारण गरेको हो । आयोगले गत वर्षको तुलनामा यसवर्ष चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा ४१८ सिट थप गरेको जनाएको छ ।
यसवर्ष एमबीबीएसतर्फ मात्रै ११० सिट थपिएका छन् । गेटाले एमबीबीएससहित नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजी र अप्टोमेट्री विषयमा समेत अध्यापनका लागि सिट माग गरेको थियो ।
विश्वविद्यालका उपकुलपति डा.सुनीलकुमार जोशीका अनुसार एमबीबीएसमा ५०, नर्सिङमा २०, बीएस्सी एमएलटीमा १० र बी अप्टोमेट्रीमा १० सिट पाएको जानकारी दिएका छन् ।