काठमाडौं १५ पुस/ प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धुँदाधुँदा धेरै साबुनका डल्ला र ड्रमका ड्रम पानी सकिएको टिप्पणी गरेका छन् ।
ओली समूहले बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डको ध्यान जहिल्यै कसरी कब्जा गर्ने भन्ने रहेको बताए । आफूले मित्रताले हंगालो हाल्दा प्रचण्डले धृतराष्ट्रलले जस्तो अंगालो मारेको उनले बताए । षड्यन्त्रकारी राजनीति छाड्नुस्, धोका बेइमानी नगर्नुस् भनेर आफूले तीन वर्ष सम्झाएको भन्दै उनले भने, ‘तीन वर्षमा डोब साबुनका धेरै डल्ला खर्च भए, ड्रममा ड्रम पानी खतम भयो उहाँलाई धुँदाधुदा ।’
ओलीले अघि भने, साबुन लायो, पखाल्यो जस्तोको तस्तै । अन्तिममा देखिहाल्नुभयो के हुँदोरहेछ ।’ओलीले पुष्पकमल दाहालसँगको सम्झौताले आफ्नो एउटा ब्रिफकेश नै भरिएको बताए । दाहालसँग थुप्रै सम्झौता गरिसकेकाले कति सम्झौता गर्ने भन्दै प्रश्न गरेका हुन् । उनले भने, प्रचण्डसँगको सम्झौताले मेरो एउटा ब्रिफकेश भरिएको छ । कति सम्झौता गर्नु पार्टी एकता गर्दाको आधा(आधा कार्यकाल प्रधानमन्त्री हुने सहमति भए पनि पछि दाहालले नै पार्टीको कार्यकारी अध्यक्ष मागेर आफूलाई ५ वर्ष सरकार चलाउन भनेर सम्झौता गरेको ओलीले बताए ।
पार्टीको कार्यकारी अध्यक्षको प्रस्ताव पनि उहाँले नै सचिवालयमा राख्नुभयो । मैले हुन्छ भनिदिए ओलीले भने,भोलिपल्ट मैले गल्ती गरेँ कि क्या हो कमरेड भनेर मलाई भन्नुभयो । पार्टीको केन्द्रीय समितिले गरेको निर्णय अनुसार महाधिवेशन गर्ने भनिए पनि दाहालकै कारणले सारिएको उनले बताए ।