धनगढी: सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन कहिले सञ्चालन हुन्छ भन्ने अझैं टुंगो लागेको छैन । प्रदेश सभाको छैठौ वर्षे अधिवेशन गत साउन ३१ गते समापन भएको थियो ।प्रदेशको छैठौं अधिवेशन समापन भएको चार महिना पुगे पनि आगामी हिउँदे अधिवेशन कहिले सञ्चालन हुने भन्ने बारे अझैं टुङ्गो लागेको छैन । हिउदे अधिवेशनलाई विधान अधिवेशन पनि मानिन्छ । त्यस्तै, संसदमा जनसरोकार, जनजीविका, विकास निर्माण लगायतका विषयमा छलफल हुने गर्दछ । चार महिनादेखि संसद नचलेका कारण जनप्रतिनिधिहरूले मलवीऊको अभाव, कोरोना भाइरस संक्रमण नियन्त्रण, विकास निर्माण कार्यमा भइरहेका ढिलासुस्ती, जनताले भोगिरहेका समस्या लगायतका सवालमा सदनमा छलफल गर्न पाएका छैनन् ।
सुदूरपश्चिम प्रदेश सभा सचिवालयले विधेयक दर्ता नहुँदा प्रदेश सभा सञ्चालन हुन नसकेको जनाएको छ । कोरोना महामारी बीच छैठौं अधिवेशन समापन भए पनि हिउँदे अधिवेशनको अझै सुरसार नरहेको संसद सचिवालयले जनाएको छ । सभामुख अर्जुनबहादुर थापाले पनि तत्काल प्रदेश सभा सञ्चालनको सम्भावना नरहेको बताए । ‘प्रदेका दुई जना मन्त्रीलाई कोरोना संक्रमण भएकाले तत्काल प्रदेश सभा सञ्चालनको सम्भावना छैन’ सभामुख थापाले भने । ‘सम्भवतः मंसिर महिनाको अन्तिम सातातिर सभा सञ्चालन हुन सक्छ । तर, यो मेरो अनुमान मात्रै हो ।’
प्रदेश सभा सचिवालयमा अहिलेसम्म एउटा पनि नयाँ विधेयक दर्ता भएको छैन । विधेयक दर्ता नभएका कारणले पनि तत्काल प्रदेश सभा सञ्चालनको सम्भावना नरहेको सभामुख थापाले बताए ।‘प्रदेश सभा सञ्चालनको लागि मुख्य विषयवस्तु नै हामीसंग छैन’ उनले भने । उनले विधेयक दर्ता भएपछि मुख्यमन्त्रीसंग सल्लाह गरेर प्रदेश सभा सञ्चालनका लागि अगाडि बढ्ने बताए । प्रदेश सभा सञ्चालनका लागि मन्त्रिपरिषद्ले निर्णय गरेपछि प्रदेश प्रमुखले बैठक आह्वान गर्ने व्यवस्था रहेको छ ।
प्रदेश सभा बैठक सञ्चालन नभएपछि प्रदेश सभा सदस्यहरू आ–आफनो निर्वाचन क्षेत्रमा विभिन्न कार्यमा व्यस्त रहेका छन् । उनीहरू विकास निर्माणको काम, विभिन्न योजनाको निरीक्षण तथा अवलोकनका साथै जनताका समस्या बुझ्ने कार्य गरिरहेका जनाइएको छ ।
सुदूरपश्चिम प्रदेश सभाबाट हालसम्म ४२ वटा कानून पारित भएको छ । प्रदेश सरकारलाई काम कारबाहीका लागि आवश्यक पर्नेदेखि लिएर विकास निर्माण, रोजगारी, लोकसेवा आयोग, योजना आयोगसंग सम्बन्धित महत्वपूर्ण कानूनहरू निर्माण भइसकेका छन् ।
त्यस्तै, जनजीविकासंग सम्बन्धित कानूनहरू पनि प्रदेश सभाबाट निर्माण भइसकेका छन् । हालसम्म पारित भएका सबै कानूनहरू प्रदेश प्रमुखबाट प्रमाणीकरणसमेत भइसकेको प्रदेश सभा सचिवालयका प्रवक्ता सिद्धराज चटौतले जानकारी दिए । प्रदेश बालबालिका सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गरी दुई विधेयक भने प्रक्रियामा रहेको जनाइएको छ ।