काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन्। पार्टीको विवाद उत्कर्षमा पुगेर पार्टी फुटको अवस्थामा पुगेको बेला प्रधानमन्त्री ओलीले कुटनीटिक भेट बाक्लो बनाएका हुन्। आज आइतबार दिउँसो ओलीले नेपाली सेनाका प्रमुख, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग वालुवाटारमै छलफल गरेका हुन्।
भेटमा के विषयमा कुराकानी भयो सार्वजनिक भएको छैन। यस अघि प्रधानमन्त्री केपी ओलीले आइतबार दिउँसो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सरकार साझेदारीका विषयमा छलफल गरेका थिए। ओलीले कांग्रेसलाई आठ मन्त्रालय दिन आफू तयार रहेको पनि बताएका थिए।