धनगढी, २८ कातिक
धनगढी उपमहानगरपालिकामा पिसिआर परीक्षणमा सहयोग पुग्नेगरी होपव्रिज संस्थाले शुक्रवार एक हजार थान भिटिएम सहयोग गरेको छ ।
संस्थाले धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई भिटिएम हस्तान्तरण गरेको हो । भिटिएम भनेको कोरोना संक्रमण रहेको छ छैन भनेर पिसिआर परीक्षणका लागि स्वाव लिन प्रयोग हुने किट हो । भिटिएमको अभाव भैरहेका बेला होपब्रिजले गरेको सहयोगले राहत पुग्ने धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए । होपब्रिज प्रदेश संयोजक महेन्द्र बमले उपमहानगरपालिकामै पुगेर भिटिएम सहयोग गरेको नगरप्रमुख वडले बताए । सुरुमा समुदायमा क्याम्प नै राखेर स्वाव संकलन गरेका थियौं, नगरप्रमुख वडले भने, अहिले आफ्नै स्वाव संकलन केन्द्रमा दैनिक स्वाव संकलन गरिरहेका छौं । अहिले सम्म धनगढीले ६ हजार १ सय ७४ जनाको निशुल्क पिसिआर परीक्षण गरिसकेको छ । नगरप्रमुख वडले होपब्रीज र त्यसका सुदूरपश्चिम संयोजक बमलाई धन्यवाद दिए ।

धनगढी उपमहानगरपालिकामा ट्राभल हिष्ट्री नभएका ब्यक्तिहरुमा कोरोनाको संक्रमण देखिन थालेपछि कन्ट्राक्ट ट्रेसिङ्गका आधारमा पिसिआर परीक्षण गरिरहेको छ ।