धनगढी, २० कातिक
धनगढी उप–महानगरपालिका वडा नं ४ का अध्यक्ष दिपक कुमार थापाले मुख्य सडक बिस्तारका लागि आफ्नो संरचना भत्काएका छन् ।
बिहीबार धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड समेतको उपस्थीतिमा वडा अध्यक्ष थापाले धनगढी मुख्य सडक बिस्तार हुने भएपछि संरचना भत्काएका हुन । थापाले जलसा होटलको अगाडी पट्टी रहेको आगनको भागमा लगाएको ब्लकहरु भत्काएका हुन । जलसा होटल रहेको घर वडा अध्यक्ष थापाको हो । उनले सडकको क्षेत्रधिकार भन्दा १ मिटर थप जमिन छोडेका छन् ।
क्षेत्रीय शहरी विकास आयोजना अन्तरका धनगढीको मुख्य सडक ३० मिटर फराकिलो बनाईदै छ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले सडकहरु विस्तारका लागि धनगढीका घरधनीहरु सडक क्षेत्रधिकार भित्र पर्ने संरचनाहरु भत्काउन थालेको बताए । उनले भने, नगरका सडकहरु फराकिला बनाउनका लागि घरधनीहरु सडक क्षेत्रधिकार भित्र पर्ने पर्खाल, घर, टहराहरु भत्काउन थालेका हुन । बुधवार मात्रै धनगढी उप–महानगरपालिका वडा नं २ का ९ जना घरधनी र वडा नं ५ का ४ जना घरधनीले संरचना भत्काउन सुरु गरेका छन् । नगरवासीको सहयोगले मात्रै धनगढीलाई सुन्दर नगर बनाउन सकिने नगरप्रमुख वडले बताए ।
क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत पहिलो चरणमा ७ वटा सडक निर्माण हुने गरि २०७७ साल असार २८ गते सम्झौता भएको उप–महानगरपालिकाका डिभिनल ईन्जीनियर डिजराज भट्टले बताए । उनले भने, जसमा गुल्म –चर्च रोड (२ हजार ७ मिटर) , धनगढी मेन रोड , ट्राफिक चौराहा देखि –कैलालीनाला ( १ हजार ३ सय ८० मिटर) , हुलाकी सडक–क्याम्पस रोड– जाखोरताल ( ७ सय मिटर) , क्याम्पस रोड– चटकपुर ( ३ हजार ६ सय ५० मिटर) , धनगढी – खुटीया स्याउले रोड ( ८ सय ७० मिटर ) , मालपोत रोड ( ४ सय ३० मिटर र हसनपुर रोड ( १ हजार १ सय ५० मिटर) रहेको छ ।