धनगढी, १७ साउन- धनगढीमा निर्माणाधीन प्रादेशिक आयुर्वेदिक अस्पतालको झण्डै ६० प्रतिशत भौतिक प्रगति भएको छ । २०७४ को फागुनबाट निर्माण थालिएको अस्पतालको ५० प्रतिशत वित्तिय प्रगति र ६० प्रतिशत भौतिक प्रगति भएको हो । अवको एक वर्षपछि सेवा सुरु गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको ५० शैयाको क्षेत्रीय आयुर्वेदिक अस्पतालको संरचना निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ ।
सुदूरपश्चिम प्रदेशमा आयुर्वेद अस्पताल नभएका वेला पञ्चकर्म योगा सहितको ५० शैयाको अस्पताल स्थापना भएपछि यस क्षेत्रका बासिन्दालाई सहज हुने विश्वास लिईएको छ । काममा कुनै अवरोध नभए निर्धारित समय भन्दा ६ महिना आगाडी नै काम सम्पन्न गर्ने लक्ष्य राखिएको योजना कार्यान्वयन गरिरहेको शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका सूचना अधिकारी श्यामचन्द्र बुढाथोकीले बताउनुभयो ।
सुरुमा जग्गा प्राप्तिका लागि विवाद भएपछि क्षेत्रीय आयुर्वेदिक अस्पतालको निर्माण कार्यलाई गति दिन कठिनाई भएपनि पछिल्लो समयमा भने निर्माण कार्यले गति लिएको हो । झण्डै १६ करोडको लगानीमा तीन वटा भवन निर्माणका लागि गौरी पार्वती एमके टिडिआर जेभीले ठेक्का सम्झौता गरेर निर्माणको काम सुरु भएकोमा अहिले संरचना निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका सञ्चालक चन्द्र शाहले बताउनुभयो ।
२०७७ सालको असारसम्म निर्माण अवधि रहेको अस्पताल भवनको निर्माणका क्रममा हालसम्म आठ करोड ५० लाख खर्च भईसकेको छ । अहिले सुदूरपश्चिम प्रदेशमा आयुर्वेदको अस्पताल नरहेका बेला विशेषज्ञ सेवा दिने उद्देश्य राखिएको छ । निर्माण व्यवसायीको सक्रियताका कारण निर्माण कार्यले गति लिएको बताईएको छ ।
प्रादेशिक आयुर्वेदिक अस्पतालमा १३ जना विशेषज्ञ डाक्टहरुले स्वास्थ्य सेवा दिनेछन् भने यसले सुदूरपश्चिम प्रदेशका विरामीहरु आयुर्वेदिक चिकित्सा मार्फत उपचार सेवा पाउनेछन् ।