रञ्जित लामा, पुनर्वास, ११ साउन- कञ्चनपुरको पुनर्वास र बेलौरी क्षेत्रमा चोरीका मोटरसाइकलको अड्डा बन्दै गईरहको छ । सो क्षेत्रमा चोरीका मोटरसाईकलहरु छ्याप छ्याप्ती गुडिरहेका छन् ।
चार लाख पर्ने मोटरसाइकल ४० हजारमै पाइने भएपछि यतिखेर पुनर्वास र बेलौरीको सडकमा चोरीका गाडीहरु छ्याप्छ्याप्ती गुडिरहेका हुन् । कञ्चनपुरको सीमान्त क्षेत्र पुनर्वास, बेलौरीमा पुनः चोरीका मोटरसाइकलहरु भारतको अधिकांश उत्तर प्रदेश र दिल्लीबाट भित्रिरहेको स्थानीय प्रत्यक्षदर्शीहरु बताउँछन् । बिगत केही वर्ष अघि प्रहरीहरुले चोरीका गाडीहरु जफत गरेतापनि हाल प्रहरी गतिबिधि मत्थर हुदै गएपछि चोरी मोटरसाइकल बिक्री गर्ने र चढ्नेहरुको हौसला बढेको हो ।
दुई लाखदेखि चार लाखसम्म पर्ने मोटरसाइकल २० हजारदेखि ४० हजारसम्म कन्डिसन हेरेर पाउँन सकिने स्रोतले बताएको छ । नेपाली युवा माझ निकै लोकप्रिय रहेको बजाज कम्पनीको पल्सर र रोयल इन्फील्ड मोटरसाइकल भारतबाट चोरी गरी नेपाल भित्राउने गिरोह र चोरी गाडीको किनबेच गर्ने नेपाली गिरोह बीच मिलोमतोमा उक्त धन्दा चल्ने गरेको उनले खुलासा गरे ।
‘हामी मात्रै होइनौं प्रतिभानगर टाउन, लालझाडी, बेलौरीमा पनि चोरी मोटरसाईकल किनबेच गर्ने ब्यक्ति छ ।’ उनले भने–‘हामीले महिनामा चार पाँच ओटा ल्याउँदा उनीहरुले महिनामा दश बीस ओटै ल्याउँने र हामी भन्दा सस्तोमा नै दिने गर्छ ।’ ‘भारतको पाटीले नेपालको सीमासम्म पु¥याउँदा मोटरसाइकल हेरेर १५ देखि २० हजार भारुसम्म पर्छ, हाम्ले एउटा मोटरसाइकलमा दुईदेखि तीन हजारसम्म मात्र मार्जिन राख्छौं ।’
स्थानीय बजार आई.बी.आर.डी., टाउन, क गाउँ, खगाउँ, बेलौरी आदि क्षेत्रहरुमा यस्ता मोटरसाइकलहरु प्रशस्तै गुडिरहेको स्थानीयबासीहरुको भनाइ छ । कतिपय चोरीका गाडीहरुले नेपाली नम्बर प्रयोग गरेको पाइन्छ, भने कतिले भारतीय नम्वर प्लेटको प्रयोग गरिरहेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।
यसरी स्थानीय बजारमा चोरीका गाडीहरु खुलेआम बिक्री बितरण भईरहँदा पनि स्थानीय प्रहरी प्रशासन भने मौन देखिन्छ । ‘तीस हजारमा चोरीका गाडी पाइन्छ त्यसको सबै सामान नम्बरीमा हालेपछि तपाईको गाडी नयाँ भईहाल्छ, त्यसपछि त्यो चोरीको गाडीमा पुराना सामान हालेपछि त्यो चोरीको गाडी पनि बीस हजारमा बेच्न सकिन्छ ।’ एक स्थानीय मोटरसाइकल प्रयोगकर्ता बताए ।
कञ्चनपुरको दक्षिणी बेल्टमा मोटरसाइकल चोरी गरी ल्याउँने गिरोहको सक्रियता निकै बढ्दै गइरहे पनि हालसम्म भने प्रहरीले कुनै पनि मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गर्न सकेका छैनन् । सो क्षेत्रमा चोरीका मोटरसाइकल गुड्दैछ भन्ने प्रहरी स्वीकार्दैनन् ।
आर्थिक वर्ष २०७५।०७६ मा मात्र कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्रबाट चोरी पैठारी भइ आएका १८ ओटा चोरीका मोटरसाइकल र एउटा जिप नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ, भने इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले आर्थिक वर्ष २०७५।०७६ मा कुनै पनि चोरीको मोटरसाइकल फेला पर्न नसकेको जनाएको छ ।
पुनर्वासका सडकहरुमा चोरीका मोटरसाइकलहरु छ्याप्छ्याप्ती गुड्ने तर पुनर्वासका ट्राफिक प्रहरीले एउटा पनि नियन्त्रणमा लिन नसक्नुको के कारण होला ? भनी प्रश्न गर्दा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका निमित्त प्रमुख प्रहरी निरीक्षक लालबहादुर साउद भन्छन् ‘यदि यस्तो हो भने हामी तुरुन्त फलोअप गर्छाैं ।’