बझाङ ८ असोज। लामो समयको पखाईपछि जिल्ला अस्पताल बझाङमा कोरोना प्रयोगशाला सञ्चालनमा आएको छ ।
जिल्ला अस्पताल बझाङले बुधबार साँझ ७ बजे एक प्रेस विज्ञप्ती मार्फत प्रयोगशाला सञ्चालनमा आएको जनाएको हो ।
बझाङ प्रयोगशालामा परीक्षण गरिएका ५ ओटा पोजेटिभ र पाँच ओटा नेगेटिभ नतिजा आएका नमुना डडेल्धुरा अस्पतालको प्रयोगशामा प्रमाणिकरणका लागि परीक्षण गर्दा नतिजा समान आएसँगै जिल्ला अस्पताल बझाङको कोरोना प्रयोगशालाले पनि मान्यता पाएको हो ।
यस प्रयोगशालमा दैनिक २ सय नमुना जाँच गर्न सक्ने क्षमता छ । जिल्ला अस्पतालका कार्यालय प्रमुख डा।सन्दिप ओखेडाले ढिलै भए पनि कोरोना परीक्षण प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याउन सफल भएको भन्दै सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरे ।
अस्पताल स्रोतका अनुसार अब बझाङमा परीक्षणको दायरा बढाइने छ भने नतिजा आउन धेरै समय लाग्ने छैन ।
२६ भदौमा जिल्ला भित्रिएको पीसीआर मेसिन जडान गर्ने इन्जिनियर बैतडीको प्रयोगशालामा व्यस्त हुँदा बझाङको प्रयोगशाला जडानमा केही ढिलो भएको थियो ।
मेसिन ल्याउनका लागि मेडिसोलुसन इन्टरनेसनल प्रा.लि काठमाडौंसँग १ करोड २५ लाख ४२ हजार एक सय भ्याटसहित सम्झौता भएको थियो ।
गत २६ जेठमा बझाङका १२ स्थानीय तह र जिल्ला समन्वय समितिको पहलमा पीसीआर मेसिन किन्ने निर्णय भएको थियो ।
सोही निर्णयअनुसार १ असारभित्र मेसिन ल्याएर परीक्षण थाल्ने तयारी गरेको भए पनि नेपाल र चीनको सिमा नाका केरुङमा बाढी पहिरो आउँदा करिब दुई साता मेसिन थन्किएको जिल्ला अस्पतालका कोरोना फोकल प्रर्सन डा।मिलन खड्काले बताए ।
मेसिन खरिदका लागि नगरपालिका र जिल्ला समन्वय समितिले आर्थिक सहयोग गरेका थिए । नगरपालिका र जिल्ला समन्वय समितिले १५ लाख र गाउँपालिकाहरुले १०–१० लाख छुट्याएका छन् ।