धनगढी ५ असोज । बझाङमा जेसीबी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको बुंगल नगरपालिकाको १ दहबगरमा जेसीवी दुर्घटना हुँदा तीन जना घाईते भएका छन । आइतबार राती भएको जेसीबी दुर्घटनामा परि बुङ्गल नगरपालिका १ भेरगडा बस्ने ३४ वर्षिय मानबहादुर बोहराको मृत्यु भएको हो ।
मृतक बोहरा महेन्द्र मावि दहबगरको प्राथमिक तहका स्थायी शिक्षक हुन । त्यस्तै बुंगल नगरपालिका ९ देउलीकोटका जेसीवी चालक २४ वर्षिय महेश खडायत, बुंगल नगरपालिका १ दहबगर बस्ने २७ वर्षिय रामबहादुर बोहरा र सोही ठाउँ बस्ने ५० वर्षिय प्रताप धामी घाइते भएका छन् । घाइते तीनै जनालाई थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ ।
जेसीवी कालंगा हाइड्रो पावरले भाडामा लिएर सञ्चालन गरिरहेको बुझिएको छ । नगरपालिकाको वडा १ दहबगर किर्केट मैदान नजिक सडकमा फसेको जिप निकाल्न गएको र फसेको जिप निकालेर ऐसेली बगर क्याम्पमा फिर्ता हुने क्रममा राती करिब १२ : ३० बजे लु १ क १२७८ नम्बर्को जेसिबी सडक बाट करिब ५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको इलाका प्रहरी कार्यालय बुंगलका प्रहरी निरिक्षक नेत्रबहादुर बोहराले बताए ।
घटनाको थप अनुसन्धानका लागि घटनास्थलमा इलाका प्रहरी कार्यालय बुंगलका प्रहरी निरिक्षक बोहरा र जिल्ला प्रहरी कार्यालय चैनपुरबाट प्रहरी नायब निरिक्षक मदनसिंह धामी टोली खटिएको छ ।
