धनगढी, ४ असोज- दिनेश सञ्चार गृहमा आक्रमण गर्ने थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ। आक्रमणमा संलग्न गिरोहका नाईके समेत रहेका धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का जीवन भनिने समिर बिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले बिकलाई धनगढी उपमहानगरपालिका वडा नम्बर ६ को ढुङ्गे बजारबाट पक्राउ गरिएको जानकारी दिए।
बिकले नै गत भदौँ २६ गते दिनेश सञ्चार गृहमा आक्रमण गर्ने समूहको नेतृत्व गरेका थिए। धनगढी ५ का १९ वर्षीय युवक रोशन विककोे जिल्ला प्रहरी कार्यालयको हिरासतमा मृत्यु भएपछि भदौँ २६ गते युवाहरु समूह नाराबाजी गर्दै सेती प्रादेशिक अस्पताल पुगेको थियो।
सेती अस्पतालबाटै बिकले गलत समाचार लेख्ने दिनेश खबरलाई ठीक पार्नुपर्छ भन्दै युवाहरुको समूहलाई उत्तेजित बनाएर ल्याएका थिए। बिकले दिनेश सञ्चार गृहमा प्रवेश गर्ने बितिकै दिनेश खबर अति भईसक्यो ठीक पार्नुपर्छ भन्दै भीडलाई उत्तेजित बनाएका थिए।
यस्तै उनले आक्रमणमा संलग्नलाई कारवाही हुनुपर्ने समेत बनाएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले दिएको जानकारीका आधारमा धनगढीका १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार प्रकाशित गरेको थियो। उक्त समाचार गलत रहेको भन्दै डिलिट गर्न दबाब दिदै आक्रमण गरेका थिए।