धनगढी, २५ भदौं
धनगढीमा पिसिआर परीक्षणमा सहयोग पुग्नेगरी होपव्रिज संस्थाले एक हजार थान भिटिएम सहयोग गरेको छ ।
भिटिएम भनेको कोरोना संक्रमण रहेको छ छैन भनेर पिसिआर परीक्षणका लागि स्वाव लिन प्रयोग हुने किट हो । भिटिएमको अभाव भैरहेका बेला होपब्रिजले गरेको सहयोगले राहत पुग्ने धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए । होपब्रिज प्रदेश संयोजक महेन्द्र बमले उपमहानगरपालिकामै पुगेर भिटिएम सहयोग गरेको नगरप्रमुख वडले बताए । अहिले हामी समुदायमा क्याम्प नै राखेर स्वाव संकलन गरिरहेका छौ, नगरप्रमुख वडले भने, अहिले सम्म धनगढीले ३ हजार २ सय १४ जनाको पिसिआर परीक्षण गरिसकेको छ ।

धनगढी उपमहानगरपालिकामा ट्राभल हिष्ट्री नभएका ब्यक्तिहरुमा कोरोनाको संक्रमण देखिन थालेपछि कन्ट्राक्ट ट्रेसिङ्गका आधारमा पिसिआर परीक्षण सुरु गरेको छ । एक साताको अवधीमा तुलनात्मक रुपमा समुदायमा संक्रमितहरुको संख्या बढेको छ नगरप्रमुख वडले भने, त्यस कारण बिभिन्न वडामा ७ वटा क्याम्प नै संचालन गरेर पिसिआर परीक्षणका लागि स्वाव लिने र परीक्षण गर्ने काम पनि गरेका छौं ।
बिहीबार सम्म धनगढी उपमहानगरपालिकामा ३ सय ६८ जना संक्रमित भेटिएका छन् । जसमध्य २ सय ३१ पुरुष र १ सय ३७ महिला रहेका छन् ।