काठमाडौँ, २१ भाद्र- नेपाली काँग्रेसभित्र आगामी फागुन ७ देखि हुने भनिएको १४औँ महाधिवेशनलाई एकीकृत भएर सम्पन्न गराउनेभन्दा क्रियाशील सदस्यता लगायतका विषयमा आपसी आरोप–प्रत्यारोप गरेर महाधिवेशन सार्ने खेल सुरु भएको गोरखापत्रमा नारद गौतमले यो समाचार लेखेका छन् । सभापति शेरबहादुर देउवाले विवादका बीच धमाधम पार्टीका विभाग गठन गर्दै आएका छन् ।
‘सभापतिका उम्मेदवार हुँ’ भनेर दाबी गर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा। शशाङ्क कोइरालाका फरक फरक भनाइले पनि महाधिवेशन सार्ने खेल सुरु भएको सङ्केत गर्छ ।कोरोनाका कारण देशभर बन्दाबन्दी र निषेधाज्ञा घोषणा भएको छ तर कोभिड सुरु हुनुभन्दा अगाडि सक्ने कार्यतालिका भएका कार्य पनि अहिलेसम्म अलपत्र छन् । तत्कालीन फोरम लोकतान्त्रिकसँग २०७४ असोज २८ गते सहमति भए पनि अहिलेसम्म एकता प्रक्रिया टुङ्गोमा पुगेको छैन । समायोजन तोकिएको समयमा पूरा नहुनु र समायोजन नभई क्रियाशील सदस्यता वितरणको प्रक्रिया नै सुरु नहुने समस्या छँदैछ । नयाँ क्रियाशील सदस्यता वितरण शतप्रतिशत बढाउने सहमति पदाधिकारी बैठकले गरे पनि केन्द्रीय कार्यसमितिको बैठक अझै बस्न सकेको छैन ।
अभौतिक भर्चुअल प्रविधिबाट गुटगत बैठक गर्न काँग्रेस नेता दिनहुँजसो व्यस्त हुनुहुन्छ तर पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेल भने बन्दाबन्दी खुकुलो नभएसम्म केन्द्रीय कार्यसमितिको बैठक बस्न नसक्ने दाबी गर्छन् ।समायोजन गर्ने अन्तिम समयसीमा साउन १० गतेसम्म थियो । समायोजनसमेत हेर्नुहुने केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले अझै ११ वटा जिल्लामा समायोजन हुन बाँकी नै रहेको बताए । पार्टीका शीर्ष र जिम्मेवार नेताहरू समायोजनको काम पूरा गर्न र क्रियाशील सदस्यता नवीकरण गर्र्ने कार्य व्यवस्थित गर्नेभन्दा पनि सभापति पदको उम्मेदवारीलाई सुरक्षित बनाउनेतिर लागेको टिप्पणी एक केन्द्रीय सदस्यको छ ।
जिल्ला कार्यसमितिहरूले क्रियाशील सदस्यता नवीकरण गर्ने र नयाँ क्रियाशील सदस्यता प्रदान गर्ने कार्य सम्पन्न गरिसक्नुपर्ने समयसीमा साउन मसान्तसम्म तोकेको थियो । त्यसमा पनि नयाँ क्रियाशील सदस्यता फारम अहिलेसम्म ३५ जिल्लाले मात्रै लगेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन सर्छ वा सार्नुपर्छ भनेर सार्वजनिक अभिव्यक्ति दिनुभएको पाइँदैन । उहाँको कार्यकाल गएको फागुन १९ मै सकिएर एक वर्ष थप गरिएको हो । उता विभाग गठनको विरोध गर्दै आउनुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औँ महाधिवेशन गर्नसकिने गरी तीनवटा विकल्प अगाडि सारेका छन् ।
नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न नसकिएमा कात्तिकसम्म नयाँ क्रियाशील सदस्यताको काम सक्नुपर्ने, १३औँ महाधिवेशनका क्रियाशील सदस्यबाट वडादेखिका अधिवेशन गर्ने र १३औँ महाधिवेशनकै महाधिवेशन प्रतिनिधिबाट केन्द्रीय महाधिवेशन गर्नसकिने प्रस्ताव छ ।
तर केन्द्रीय सदस्य गुरुराज घिमिरेचाहिँ विधान अनुसार बाँड्नका लागि जिल्ला पु¥याएका क्रियाशील सदस्यताको नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण नगरी महाधिवेशन हुन सक्दैन बताउछन् सभापति देउवाका पार्टीभित्रै भिन्न मत राख्ने नेताले क्रियाशील सदस्यता सभापतिको कब्जामा रहेको प्रतिक्रिया दिइरहँदा उपसभापति विमलेन्द्र निधिले भने क्रियाशील सदस्यता वितरण र नवीकरण कसैको कब्जामा नरहेको बताए ।
उपसभापति निधि क्रियाशील सदस्यता खुला छ । यो कसैको कब्जामा छैन र हुन पनि सक्दैन । केन्द्रीय पदाधिकारीले होइन वडा समितिले क्रियाशील सदस्यता दिन्छ, नवीकरण गर्छ, उजुरी प¥यो भने छानबिन समितिबाट छानबिन गर्ने हो भने । काँग्रेसको सङ्गठन संरचनामा सभापतिपछि शक्तिशाली मानिने महामन्त्री डा। शशाङ्क कोइराला चाहिँ महाधिवेशन हुनेमै शङ्का व्यक्त गरेका छन् ।
पार्टी नेतृत्व परिवर्तन हुनुपर्छ भन्नेमा म छु तर तोकिएको समयमै अधिवेशन हुन्छ कि हुन्न ? कोरोना छ, अर्कोतर्फ सभापति देउवाको अधिवेशन गर्ने मनसाय छ कि छैन ? भनेर उहाँ सभापति देउवालाई प्रश्न गर्छन् । फागुनमा महाधिवेशन नभए वैशाखमा गर्नुपर्ने प्रस्ताव महामन्त्री कोइरालाको छ ।