अछाम — जिल्लाका ग्रामीण बस्तीमा पाइने रैथाने र गड्डी जातका भैंसी लोप हुने अवस्थामा पुगेका छन् । केही वर्षअघिसम्म प्रायः सबैका घर पालिने यी भैंसी अहिले लोपोन्मुख भएका छन् ।
सहरबाट भैंसी खरिद गर्न पुग्नेले विभिन्न प्रलोभन देखाएर बझाङबाट ठूलो संख्यामा भैंसी खरिद गरेपछि अहिले लोप हुने अवस्थामा पुगेका हुन् । पछिल्लो समय बझाङ, बाजुरा, दार्चुला, अछाम र डोटीबाट दुहुना र ब्याउने भैंसीसमेत काट्नकै लागि तस्करी हुने क्रम बढेको छ । अछामबाट तुर्माखाँद गाउँपालिकाको जंगलघाट नाका हुँदै महिनामा दर्जनौं भैंसी सुर्खेत, नेपालगन्ज, काठमाडौंलगायत सहर पुगिरहेका छन् । ठूला होटल व्यवसायीले मासुबाट बन्ने परिकारका लागि भैंसी खोज्ने गरेकाले जिल्लामा लोप हुन लागेका हुन् ।
८ वर्षदेखि जिल्लाका भैंसी बाहिरिन थालेपछि प्रत्येक वर्ष हुने जिल्ला परिषदमा रोक्ने निर्णयसमेत हुने गरेको थियो । तत्कालीन अवस्थामा बाजुराबाट भैंसी लिन पाउने अनुमति लिएर ठेकेदारहरूले अछामका भैंसीसमेत लैजान थालेपछि जिल्लामा त्यसको विरोध भएको थियो । भैंसी तस्करीको आरोप केही ठेकेदारलाई लाग्दा उनीहरूले इजाजतपत्र लिएरै लैजान थालेका हुन् । दूध दिने भैंसी बाहिरिँदा जिल्लामा दूधजन्य पदार्थको मूल्य पनि बढेको छ । केही वर्षअघि १ केजी घिउको ३ सय पर्थ्यो भने अहिले ७ सय रुपैयाँसम्म पुगेको छ । ‘हामीले यताबाट १२ हजारदेखि २० हजार रुपैयाँमा भैंसी किन्छौं । फाइदा ठीकै हुन्छ,’ मंगलसैनमा भैंसी जम्मा पार्ने उदय भाटले भने ।