धनगढी, ३१ असार– गडवाली गीत काजल काजलको हुबहु कपि गरिएको सर्वत्र आलोचना भइरहेका बेला गायक चक्र बमले फेसबुकमा स्टाटस लेख्दै गडवाली टाइपको गीत बनाउन खोजेको स्वीकारेका छन् ।
उनले गडवाली गीत काजल काजल कपि गरेको कुरा खण्डन गर्न खोज्दा गडवाली भाषिकाको लवज आएको नदेखिएको गडवाली भाषाविद्हरु बताउँछन् । तर, गडवाली काजल काजल गीतका शब्दहरु भने नेपाली काजल गीतमा राखिएको उनीहरुको दावी छ । ‘गडवाली काजल काजल गीतका शब्द तथा कोरियोग्राफी भने नेपाली काजल गीतमा कपि गरिएको छ,’ गडवालका भाषाविद् डा. रामानन्द पाण्डेय भन्छन्,‘यसरी शब्द कपि गर्दा न त सर्जकलाई फाइदा हुन्छ, न त नव कलाकारहरुको क्षमता नै बढ्छ ।’ सर्जकले आफै शब्द चयन गर्नसक्नु नै कलाकारको खुबी हुने उनी बताउँछन् ।
चक्र बमले मंगलबार बिहान १०ः ५३ बजे स्टाटस लेख्दै भनेका छन्,‘मैले चाहिँ ओए काजल छ नि लोक गीत जस्तो डेउडा गीत जस्तो, पन्चेबाजा अरु टाइपको होइन गडवाली टाइपको नै बनाउन खोजेको हो नि, त्यस्तै त्यस्तै भा छ नि हो । खोजेको त्यै हो । जे खोजेको त्यो पन हल्का आउनु पर्यो नि होइन र हजुर ।’
यहि स्टाटसबाट पनि के पुष्टि हुन्छ भने उनले गडवाली ‘काजल काजल’ गीतबाट नै शब्द कपि गरेका हुन् । अर्को कुरा गडवाली काजल काजल गीत युटुवमा अप्रिल २५ मै रिजिल भइसकेको थियो भने चक्र बमले भने गडवाली गीत रिलिज भएको तीन महिनापछि अर्थात् जुलाई ६ मा युटुवमार्फत् बाहिर ल्याएका थिए । यसबाट पनि के पुष्टि हुन्छ भने अगाडि नै बजारमा ल्याइएको गडवाली गीतका शब्दहरु कपि गरेर उही शब्द उही संगीत र म्युजिक भिडियोको कोरियोग्राफि पनि कपि गरिएको छ ।
यसअघि आफ्नो शब्द तथा लय नै चोरी भएको बताउँदै भारतीय गायक राज टाइगरले भने,‘नेपालका गायक चक्र बमले मेरो शब्द तथा लय चोरी गरेका छन् ।’ नेपाली गायक चक्र बमले गल्ती नस्वीकारे आफू कपि राइटमा जाने उनले बताएका थिए । ‘गायक बमले गल्ती नस्वीकारे म कपि राइटमा जान्छु,’ उनले भने,‘म यस्तै भए युटुवमा सेन्सर लगाउँछु ।’