अछाममा कोरोना संक्रमित महिलाले आइसोलेसनमा बच्चा जन्माएकी छन् । मेल्लेख गाउँपालिका–४ कुष्कोट निवासी २५ वर्षिया महिलाले उपचारको क्रममा जिल्ला अस्पतालको आइसोलेसनमा शिशुलाई जन्म दिएकी हुन ।
शिशु र आमाको दुवैको अवस्था अहिलेसम्म सामान्य रहेको स्वास्थ कार्यालय अछामका प्रमुख झनक ढुंगानाले बताए ।
कोरोना संक्रमित पति पत्नीलाई असार ४ गतेबाट अछाम अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।
भारतबाट आएका दुवै श्रीमान श्रीमती वडाकै क्वारेन्टाइनमा बसेपछि थ्रोट स्वाब परीक्षणका क्रममा कोरोना पुष्टि भएको थियो ।
नवजात शिशुको स्वाब जाँचिने नवजात शिशुमा कोरोना संक्रमण भए नभएको बारे जाँच्न केही दिनमा थ्रोट स्वाब परीक्षणका लागि पठाउने तयारी भएको अस्पतालको भनाइ छ।
केही हप्ताअघि आकस्मिक बाहेकका सेवा बन्द गरेर कोरोना सङ्क्रमित व्यक्तिको उपचारका लागि अछाम अस्पताल क्षेत्र सिल गरिएको छ ।
जिल्लामा अहिलेसम्म ४ जनाले क्वारेन्टाइन र एकजनाले आइसोलेसनमा शिशुलाई जन्म दिएको अस्पतालका सूचना अधिकारी देव जोशीले जानकारी दिए ।
अछाममा शुक्रबारसम्म ६ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने १ सय ७८ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।