धनगढी –सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले सुचारु गरेको अनलाइन कक्षामा ७० प्रतिशत विद्यार्थी पहुँच भन्दा बाहिर रहेका छन्। कोरोना भाइरसको महामारीका कारण गत जेठ देखी विश्वविद्यालयले पढाइमा असर नपुगोस् भन्नका लागी सुचारु गरेको अनलाइन कक्षामा ७० प्रतिशत विद्यार्थीहरू पहुँच भन्दा बाहिर रहेका हुन्।
चैत्र महिना तथा वैशाखमा परीक्षाको तयारीमा बसेका विद्यार्थीहरूको परीक्षा अर्को निर्णय सार्वजनिक नहुन्जेल सम्मका लागी स्थगित गरिएको थियो। तर बन्दाबन्दी थपिँदै गएपछि विद्यार्थीहरूले एकातिर अनलाइन कक्षामा पहुँच पुग्न नसकेको र परीक्षाको विषय अन्यौँलमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
जसले सिकाई प्रक्रिया अधुरै रहने गुनासो गरिएको छ।
दुरदजारमा रहेका विद्यार्थीहरूले ईन्टनेटको अभाव हुँदा अनलाइन कक्षामा पनि सरिक हुन नसकेको बताएका छन्। व्यवस्थापन सङ्कायमा अध्ययनरत कृष्ण सिंह ऐरले पहाडी क्षेत्रमा नेटवर्कको समस्याले अनलाइन कक्षामा सरिक हुन नसकीरहेको गुनासो गरे।
उपयुक्त नीति अवलम्बन गरी विश्वविद्यालयले विद्यार्थीहरूको शैक्षिक उपलब्धिमा चासो दिनुपर्ने उनले माग गरे। एकातिर अनलाइन कक्षामा सरिक हुन नपाउँदा चिन्तित बनेका विद्यार्थीहरू परीक्षाको विषयमा समेत अन्यौलमा छन्।
निश्चित वर्षको पाठ्यक्रम अध्ययन पुरा गरिसकेपछि परीक्षाको तयारीमा बसेका विद्यार्थीहरू विश्वविद्यालयले लिने जाँचका विषयमा कुनै निर्णय नगर्दा अन्यौँलमा परेको बताउँछन्। शीघ्र उपयुक्त माध्यम छनौट गरी परीक्षा लिइनुपर्ने मानविकी सङ्काय सातौँ सेमेस्टरमा अध्ययन विकास सिंह महताले माग गरे।
अनलाइन कक्षा प्रति शिक्षकहरू नै असन्तुष्ट
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले सुचारु गरेको अनलाई कक्षा प्रति शिक्षहरु नै असन्तुष्ट बनेका छन्। कोरोना महामारी पछि जारी बन्दाबन्दीका कारण शैक्षिक संस्था पूर्ण रूपमा ठप्प भएपछि विश्वविद्यालयले सुचारु गरेको अनलाइन कक्षामा सबै विद्यार्थीहरूको पहुँच पुग्न नपाएको भन्दै शिक्षकहरू नै असन्तुष्ट बनेका हुन्।
‘अनलाइन कक्षा हचुवाका भरमा अगाडी बढाइयो प्रिन्सिपल भूपेन्द्र विष्टले भने, ३० प्रतिशत विद्यार्थी मात्रै अनलाइन कक्षामा सरिक भएको पायौँ।’ उनले थपे, अनलाइन कक्षाका लागी सर्वप्रथम विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीको पारिवारिक तथा आर्थिक अवस्थालाई पनि मध्यनजर गरिनु पर्ने हो तर त्यसमा हामी चुक्यौ।’
विश्वविद्यालय अनुदान आयोगले यस अघि अनलाइन कक्षा सञ्चालनका लागी विद्यार्थीहरूबाट नम्बर, इमेल आइडी समेटी प्रपोजल तयार पार्न निर्देशन जारी गरेको थियो।
सोही अनुरूप रजिष्टारको आदेशमा विभागीय प्रमुखहरूले अनलाइन कक्षा सुचारुका लागी आवश्यक पर्ने विद्यार्थीहरूबाट व्यक्तिगत जानकारी माग गरेका थिए। तर व्यवस्थापन संंकायमा मात्रै ४ सय विद्यार्थीहरूबाट इमेल तथा फोन नम्बर सङ्कलन गरिएको विभागीय प्रमुख शंकर दत्त भट्टले बताए।
‘अन्य विभागका विद्यार्थीहरूको अनलाइन बाट पढाई सुरु भइसकेको छ। उनले भने, साउन दोस्रो साता बाट व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीको पनि अनलाइन कक्षा सुरु हुनेछ।’
तर अन्य विभागमा सुरु भएको अनलाइन कक्षामा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता नपाउँदा व्यवस्थापन संकायमा पनि सबै विद्यार्थी सहभागी हुनेमा विश्वस्त नभएको उनले बताए। ‘जुन तरिकाले अनलाइन कक्षा अगाडी बढ्ला सोचिएको थियो, त्यो पाएनौ उनले भने।’
तर केही विद्यार्थीहरूलाई मात्रै अनलाइन कक्षामा सरिक गराइँदा अन्य ७० प्रतिशत विद्यार्थीहरूको भविष्य के हुने भन्ने विषयमा विश्वविद्यालय मौन बसेको छ।
तत्काल परीक्षा लिने विषयमा कुनै निर्णय भएको छैन–उपकुलपति जोशी
सुदूरपश्चिमका ९ वटै जिल्ला तथा अन्य प्रदेशका विद्यार्थीहरू समेत उच्चशिक्षा हासिल गर्नका लागी महेन्द्रनगर धाउने गरेका छन्। एकातिर सुलभ शुल्क र गुणस्तरीय पढाई हुने गरेको विश्वविद्यालयमा यस पटक भने महामारीका कारण विद्यार्थीहरूले पढाई प्रभावित भएको भन्दै निकास निकाल्न माग गरेका छन्।
तर तत्काल परीक्षा लिने विषयमा कुनै निर्णय भई नसकेको उपकुलपति अमर राज जोशीले बताए। विद्यार्थीहरूको पढाई लाई निरन्तरता दिन विश्वविद्यालयले अवलम्बन गरेको अन्तिम र उपयुक्त विकल्पका रूपमा अनलाइन कक्षालाई लिइएको थियो।
तर सबै विद्यार्थीहरू इन्टरनेटको पहुँचमा पुग्न नसक्दा अनलाइन कक्षाबाट पढाउन नसकिरहेको विश्वविद्यालयको जिकिर छ।
‘विद्यार्थीहरूका इमेल आइडी लियौ, एनटिसीले सस्तोमा इन्टरनेट सुविधा उपलब्ध गरायो विश्वविद्यालयका उपकुलपति अमर राज जोशीले भने, ‘हाम्रा विद्यार्थीहरूमा स्रोतसाधनको अभाव छ, ल्याप्टब छैन स्मार्ट फोन छैन विविध समस्याले स्नातक तहका थुप्रै कक्षाहरू चलाउन सकिएन।’
विद्यार्थीहरूको तत्काल परीक्षा लिने या नलिने विषयमा अन्य विश्वविद्यालयहरू सँग पनि छलफल भइरहेकाले तत्कालका लागी भ्याए सम्म बढी भन्दा बढी अनलाइन कक्षामा सरिक गराउन लागी परेको उनले जनाए। ‘तत्काल परीक्षा लिने विषयमा हाम्रो विस्वविद्यालयले मात्रै निर्णय गर्न सक्दैन उनले भने। अरू विश्वविद्यालय कुन तरीकाले जान्छन् हेरौँ।’
