बैतडी। भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बुधबारदेखि ३ दिनका लागि खुल्ने भएको छ। दुवै देशका स्थानीय प्रशासनको समन्वयमा बुधबारदेखि तीन दिनका लागि सीमा नाका खुला गर्ने सहमति भएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। बुधबार बिहान ९ बजेदेखि नाका खुला रहने उनले बताए।
कोरोना भाइरसको जोखिमका कारण अन्तर्राष्ट्रिय सीमा नाका बन्द भएकाले दुवै देशका स्थानीय प्रशासनहरुको सहमति नाका खुल्न लागेको उनको भनाई छ। सीमामा फसेका नागरिकलाई स्वदेश फर्काउने, भारतबाट पेन्सन बुझ्ने नागरिकलाई पेन्सन बुझ्नका लागि र नेपालबाट भारत फर्कन चाहने भारतीय नागरिकका लागि सीमा नाका खोल्ने तयारी भएको प्रशासन कार्यालय बैतडीले जनाएको छ।
पेन्सन बुझ्ने नागरिकलाई दैनिक १ सय जनालाई मात्रै नाकाबाट भारत पस्न दिइनेछ। त्यसका लागि ज्येष्ठताका आधारमा सोल्जर बोर्डले कुपनको व्यवस्था गरेको उनले बताए। यस्तै नाकाबाट फर्कने नागरिकलाई सामान्य चेकजाँच गरेर स्वदेश फर्काइनेछ। सीमा नाकामा २ सय जति नागरिक रहेको अनुमान गरिएको छ।
सरकारले झुलाघाट नाकालाई स्वदेश भित्रिनका लागि आधिकारिक नाका तोकेको भए पनि भारत सहमत नहुँदा गत महिनादेखि खुल्न सकेको थिएन। लामो प्रयासपछि मात्र झुलाघाट नाका खोल्न भारत सहमत भएको बैतडीका प्रमुख जिल्ला अधिकारी जोशीले बताए।
तीन महिनादेखि सीमा नाका बन्द हुँदा भारतीय पेन्सनधारी नेपाली नागरिकलाई समस्या भएको थियो । बैतडीबाट मात्रै करीब २ हजारभन्दा बढी नागरिकले भारतको झुलाघाटबाट पेन्सन बुझ्ने गरेका छन्।