नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ।
काठमाडौंस्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचाररत ६६ वर्षीया छन्त्यालको बुधबार निधन भएको हो।
‘उहाँको आज निधन भयो। पार्टीले शोक प्रस्ताव पारित गर्न केन्द्रीय समिति बस्छ,’ कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सेतोपाटीसँग भने। उनका अनुसार आजका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा थप एजेन्डाबारे छलफल हुँदैन। ‘शोक प्रस्ताव पारित गरेर बैठक स्थगित हुन्छ। अन्त्येष्टिमा सहभागी हुन नेताहरू दिउँसो १ बजे पशुपति जानुहुन्छ,’ उनले भने।
छन्त्याल बाग्लुङ ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिवाङकी हुन्। उनी प्रतिनिधिसभामा समानुपातिक तर्फबाट सांसद थिइन्। उनी संसदको कृषि, सहकारी, वातावरण र पशुपंक्षि समितिमा सदस्य थिइन्। उनका दुई छोरा र दुई छोरी छन्।
उनले नेपाल महिला संघबाट राजनीति थालेकी थिइन्। उनी संविधानसभा सदस्य पनि थिइन्। लामो समय आमा समूहमा रहेर काम गरेकी उनले अन्तरपार्टी महिला सञ्जालमा पनि काम गरिन्।