लम्की १ असार – क्वारेन्टाइनमा बसेकी एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। लम्कीचुहा नगरपालिका १ स्थित शहीद स्मृति माविको क्वारेन्टाइनमा रहेकी ३१ वर्षीय महिलालाई सामूहिक बलात्कार गरेको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएपछि उनीहरू पक्राउ परेका हुन्। उनीहरूलाई हिजै जिल्ला प्रहरी कार्यालय ल्याइएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम राणाले बताए। उनीहरूलाई आज म्याद थप गरी अनुसन्धान अगाडि बढाइने उनले जानकारी दिए।
पीडित महिलाले क्वारेन्टाइन व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी किशोर परियार, स्वयंसेवक लक्ष्मण परियार र सर्जन विकले शनिबार राति करिब सवा १२ बजे बलात्कार गरेको किटानी जाहेरी दिएकी छन्।बलात्कारको भिडिओसमेत बनाउँदै कसैलाई भनेमा उक्त भिडिओ सार्वजनिक गर्ने धम्की दिएको पीडित महिलाको जाहेरीमा उल्लेख छ।
घटनामा संलग्नलाई कारवाही माग गर्दै लम्कीमा वडा कार्यालय तोडफोड र केहीबेर राजमार्ग अवरुद्ध पारिएको थियो।भारतबाट त्रिनगर नाका हुँदै २० जेठमा स्वदेश आएकी उनी लम्कीचुहा नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बस्दै आएकी थिइन्।