कञ्चनपुरको महाकाली नगरपालिका ८ सुन्दरनगरका स्थानीय किसान लक्ष्मण पुन(मगर) बर्खेखेतीका लागि गत साता खेततिर हिडे । सीमा क्षेत्रमा लक्ष्मणको खेत छ । रोपाईको तयारीका लागि टेक्टर लगेर खेत खोत्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को फैज आएर खनजोत रोकिदिए ।
‘म खेत जोत्दै थिए, एक राउण्ड के जोतेको थिए, उताबाट एसएसबीको टीम आएर रोकिदिए, ‘उनले भने, ‘एसएसबीले विवादित भूमि भन्दै खेतबाट टेक्टर हटाउन दवाव दिए ।’ एसएसबीले रोकेपछि टेक्टर लिएर आफु फर्किएको उनले बताए । सीमा पिलर १७ नजिक लक्ष्मणको अढाईकट्टा जमिनमा एसएसबीले खेतपाती एव खनजोत गर्न दिएका छैनन् ।
यस अघि गत बर्ष उक्त खेतमा लगाएको मसुरो भारतीय नागरिकले टेक्टर धुधाएर बाली नष्ट गरिदिएको थियो । तीन बर्ष अघि पनि भारतीय एसएसबीले लक्ष्मणलाई खनजोतमा अवरोध गरेको थियो । ‘हामी यहाँ विस २०२४ सालदेखि बसेका हौँ, ‘उनले भने, ‘बाबु सेना थिए, उनलाई डेढ विगाह जमिन मिलेको थियो, अहिले अनावश्यक रुपमा भारतीय पक्षबाट अवरोध भईरहेको छ ।’
जनखोत अवरोध गरेका एसएसबीले माथिको विषय भन्दै रोकेको लक्ष्मणले बताए । बोर्डर आउट पोष्ट(बिओपी) दोधाराले भारतीय पक्षबाट नेपालीको खेतमा अवरोध बारे माथिल्लो निकायलाई जानकारी गराईसकेको जनाएको छ । स्थानीयले भारतीय विस्तारवाद र हेपाह प्रवृतिको उपज आफ्नै खेतमा खनजोत गर्दा समेत भारतीय पक्षबाट अवरोध भएको गुनासो पोखेका छन् ।
सीमा क्षेत्रमा भारतीय पक्षबाटै अनावश्यक विवाद, अवरोध एव रोकावटले सीमा क्षेत्रका नागरिक हैरान भएका छन् । भारतीय पक्षबाट प्रतारित स्थानीयले सीमा क्षेत्रमै काँडेतार लगाउन समेत माग अघि सारेका छन् । स्थानीय मान ब. गुरुङ्गले पटक पटक भारतबाट प्रतारिक हुनुपर्ने बाध्यता हटाउन सरकारले सीमा क्षेत्रमा ठुलो पर्खाल एव काँडेतार आवश्यक रहेको माग अघि सारेका छन् ।
१७नम्बर पिलर पार्ने मनसायले भारतीय पक्षबाट खाल्टो खन्ने कामको बिरोध गर्दा नेपालीका जमिन खनजोतमा अवरोध पु¥याईरहेको उनले बताए ।
महाकाली नगरपालिकाले भने दुवै पक्ष बसेर विवाद टुङ्गो लगाउनुपर्ने जनाएको छ । महाकाली नगरका प्रवक्ता दिल बहादुर सिजालीले पटक पटक आउने विवाद दुवै पक्ष बसेर समाधानको विकल्प नभएको बताए ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले सुन्दनगरमा आएको विवाद नेपाल तर्फ शसस्त्र प्रहरीलाई उता सम्बन्वय गरेर समाधान गर्न निर्देशन लिएको बताए ।