नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० रामबहादुर कुरुम्बाङलाई जेठ १५ गते राति फोन आयो– ‘डुडुवा गाउँपालिकामा आरडीटी र पीसीआरबाट कोरोना रिपोर्ट पोजिटिभ भएका व्यक्तिलाई एउटैै क्वारेन्टाइनमा राखिएको छ ।’
सीडीओ कुरुम्बाङ राति ९ बजे डुडुवा गाउँपालिका–४ स्थित आधारभूत विद्यालय शाहपुर्वा पुगे । उनले पाएको खबर सत्य सावित भयो । आरडीटी पोजिटिभ आएका २० र पीसीआर पोजिटिभ भएका ८ व्यक्तिलाई एउटै कोठामा राखिएको थियो । उनले यसरी राख्नु गम्भीर त्रुटि भएको बताए । क्वारेन्टाइन व्यवस्थापन गर्ने टोलीलाई अलग स्थानमा व्यवस्थापन गर्र्न निर्देशन दिएर उनी फर्किए ।
जिल्लामा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेका बेला उनलाई १२ जेठमा गृह मन्त्रालयले स्याङ्जाबाट सरुवा गरेर बाँकेमा पठाएको थियो । उनले यहाँ आएर जिम्मेवारी सम्हालेको एक दिन मात्र भएको थियो । उनी सोही दिन जिल्लाको कोरोना रेड जोन नरैनापुर घुमेर फर्किएका थिए । विद्युत् सेवासमेत नपुगेको नरैनापुरका १५ वटा क्वारेन्टाइनको अवस्था त झन् बिजोग थियो ।
उनले भोलिपल्ट स्थानीय एक टेलिभिजनसँगको अन्तर्वार्तामा भने, ‘यहाँका क्वारेन्टाइन मापदण्डअनुरूप छैनन् । त्यो जेलजस्ता छन् ।’ उनले खानेबस्ने व्यवस्था राम्रो नभएको प्रतिक्रिया दिएका थिए । उनी अझै भन्छन्, ‘मापदण्ड त के पुग्थ्यो र कहीं पनि पुगेको छैन । यहाँ मात्र होइन देशभर । तर, सुधार गर्न त सकिन्छ । जति गर्न सकिन्थ्यो त्यति गर्न सकिएको छैन ।’
आजको अन्नपूर्ण पोष्टमा नेपालगञ्जबाट शंकरप्रसाद अधिकारीले लेखेका छन् ।