काठमाडौं । पूर्वराजा वीरेन्द्र शाह सहित दश जनाको ज्यान जानेगरी रहस्यमयी दरबार हत्याकाण्ड भएको आज १९ वर्ष पुगेको छ । वि।स। २०५८ जेठ १९ गते तत्कालीन राजा वीरेन्द्र शाहको वंशनास हुने गरी ‘दरवार हत्याकाण्ड’ अझैपनि रहस्यमय नै रहेको छ ।
नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटनाको रुपमा लिइएको यस हत्याकाण्डमा तत्कालीन राजा वीरेद्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती, अधिराजकुमार धिरेन्द्र, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्ग विक्रम शाह लगायतको हत्या भएको थियो।
हत्याकाण्डबारे तत्कालिन सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाटसहितको छानविन समिति बनाएको थियो । उक्त समितिले यूवराज दीपेन्द्र शाहले आफ्नै परिवार माथि गोलि चलाएको र आफुले पनि गोली हानेर आत्महत्या गरेको रिपोर्ट सार्बजनिक गरेको भएपनि यसलाई धेरैले विश्वास गरेका छैनन् ।
दरबारभित्रको शक्तिसंघर्षले उक्त घटना भएको आशंका गर्नेहरु पनि छन् । यसमा विदेशीको हात रहेको भन्दै शंकाहरु नउठेका होइनन् । तर, त्यसको औपचारिक रुपमा पुष्टि हुनसकेको छैन । नेपालको इतिहासको एउटा कालो रातका रुपमा १९ जेठ २०५८ को शुक्रबार साँझलाई लिइएको छ । दरबार हत्याकाण्ड भएको चार वर्षमै देशमा गणतन्त्रको ढोका खुलेको थियो ।
त्यसपछि संविधानसभाको चुनाव भई २०६५ सालमा गणतन्त्र घोषणा भई २५० वर्ष लामो शाहवंशको शासन अन्त भएको थियो । यसकारण पनि दरबार हत्याकाण्डमै पछिसम्मको राजनीतिक परिवर्तनको योजना थियो कि भन्ने शंका गर्ने ठाउँ बनेको छ ।