धनगढी, १६ जेठ । लकडाउनका बीच भारतबाट नेपाल आउने नेपालीहरु चर्को भाडा तिरेर आईरहेका छन् । त्यसैमाथि नेपालमा पनि उनीहरुसंग बस व्यवसायीले चर्को बस भाडा असुलिरहेका छन् ।
शुक्रबार दिउसो धनगढीबाट अछामको कमलबजार जादै गरेका दुई बसका यात्रुहरुलाई बाटोमा झारेर बस सञ्चालकहरुले भने जति भाडा नदिए फर्काएर डोकेबजार पु¥याउने धम्की दिईरहेका थिए । उनीहरुले दुई वटा बसको भाडा एक लाख ६० हजार रुपैया मुस्किलले जम्मा गरेका थिए । जसअनुसार प्रति बस ८० हजार भाडा बुझाईरहेका थिए ।तरबस सञ्चालकहरु भने ९० हजार रुपैयाका दरले बस भाडा मागिरहेका थिए । यो भाडा प्रशासनले तोकेको भन्दा ३० हजार रुपैया बढि हो । स्थानीय प्रशासन र बस समितिबीच अछामसम्मको प्रति बस भाडा ६० हजार तोकिएको मालिका यातायातका अध्यक्ष अनन्त जोशीले बताए ।
बस सञ्चालकहरु भने भाडा भने जति नदिएकै कारण बीच सडकमा उनीहरुलाई झारेर बार्गेनिङ गरिरहेका थिए । भारतबाट आउने नेपालीहरुसंग बस भाडा चर्को असुल गरिरहेको जानकारी स्थानीय प्रशासन र बस समितिका अध्यक्ष जोशीलाई दिएपछि जोशीले बढि भाडा असुल्ने बस सञ्चालकलाई कारबाही गर्ने बताए ।
अध्यक्ष जोशीले फोन गरेर बस भाडा बढि नलिन निर्देशन दिएपछि केही नरम भएका बस सञ्चालक फेरि पनि तोकिएको भाडामा जान आनाकानी गरिरहेका थिए । पहाडी जिल्ला जाने यात्रुहरुले दोब्बर भन्दा बढि भाडा तिर्नु परिरहेको छ । तर सम्बन्धित स्थानीय तह र प्रदेश सरकार भने मौन छ । अछाम जादै गरेका सुरेन्द्र बिष्टले स्थानीय तहका प्रमुख, अछाम जिल्लाका सांसद र प्रदेश सरकारका रहेको व्यक्तिहरुलाई सम्पर्क गर्दा कुनै वास्ता नगरेको बताए ।
धनगढीबाट अत्तरीयासम्मको १५ किमीको दूरीमा ५ सय भाडा मागिएको अत्तरीयाका ईन्द्र पुरीले गुनासो गरे । भारतको अहमदाबाट आएका पुरीले मुम्बईबाट आउने व्यक्तिले १५ हजार भारतीय रुपैयासम्म तिर्नु परेको बताए । राजस्थानबाट आएका व्यक्तिहरुले ५ हजार भारतीय रुपैयासम्म तिरेका छन् । यता धनगढीबाट डोटी जादा तीन वर्षीय बालकसंग पनि १ हजार रुपैया मागिएको नेपाली काँग्रेस डोटीका नेता धर्मराज जोशीले बताए ।