धनगढी, ६ मंसिर / सुदूरपश्चिम प्रदेश सरकारको बजेटमाथि देखिएका विवाद र असन्तुष्टि समाधान हुन नसक्दा अन्योल बढेको छ । पूरक बजेट ल्याउने सहमतिसहित प्रदेश सभाबाट बजेट पारित भए पनि लामो समय बितिसक्दा समेत संसदीय अध्ययन समिति गठन हुन सकेको छैन । बजेट पारित गर्नुअघि भएको सहमति कार्यान्वयनमा ढिलाइ हुँदा सरकारको प्रतिबद्धतामाथि नै प्रश्न उठ्न थालेको छ ।
बजेट लामो समयसम्म पारित हुन नसक्दा दसैँ-तिहारको मुखमा प्रदेश सरकारका कर्मचारीले समेत तलब पाउन नसक्ने अवस्था सिर्जना भएपछि सरकारले बजेटका कमजोरी अध्ययन गरी आवश्यक सुधारसहित पूरक बजेट ल्याउने सहमति गरेको थियो । सोही सहमतिपछि प्रदेश सभाबाट बजेट पारित भए पनि बजेटप्रति सत्तापक्ष र प्रतिपक्ष दुवैका सांसदहरूको असन्तुष्टि भने कायमै छ ।
बजेटका कमी-कमजोरी अध्ययन गर्न संसदीय समिति गठन गर्ने सहमति भए पनि हालसम्म समिति गठनको प्रक्रिया अघि बढ्न सकेको छैन । सत्ता साझेदार दल नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेले समितिका लागि गत कात्तिक १२ गते नै आफ्ना सदस्यहरूको नाम पठाइसकेका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नाम उपलब्ध नगराउँदा समिति गठन हुन नसकेको सरकारका भौतिक पूर्वाधार विकासमन्त्री ओम विक्रम भाटले जानकारी दिए ।
सरकार आफ्नो प्रतिबद्धताबाट पछि नहटेको दाबी गर्दै मन्त्री भाटले समिति गठनका लागि आवश्यक प्रक्रिया अघि बढ्न नसक्नुमा कांग्रेसले सदस्यको नाम नपठाउनु मुख्य कारण रहेको प्रस्ट पारे ।
यता, सभामुख भीमबहादुर भण्डारीले भने संसदीय समिति गठनका विषयमा दलहरूबिच अनौपचारिक छलफल भइरहेको बताए । बजेट कार्यान्वयनमा गइसकेकाले तत्काल ठुलो समस्या नरहे पनि सरकारले पूरक बजेट ल्याउने सर्तमा बजेट पारित गरेको विषयलाई गम्भीर रूपमा लिनुपर्ने उनको भनाइ छ ।
तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने संसदीय समिति गठन र पूरक बजेटको सहमतिभन्दा पनि बजेट पारित गर्दाको प्रक्रियामाथि नै प्रश्न उठाएको छ ।
कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटप्रति सत्तापक्षकै सांसदहरू असन्तुष्ट हुनु, संसदमा बजेटमाथि पर्याप्त छलफल हुन नसक्नु र सांसदहरूलाई भ्रममा पारेर बजेट पारित गरिनु सरकारको गम्भीर कमजोरी भएको टिप्पणी गरे ।
सभामुख स्वयंले समेत बजेटका विषयमा अध्ययन तथा छानबिन समिति गठन गर्नुपर्ने अवस्था स्वीकार गरिसकेको अवस्थामा बजेटका कमजोरी थाहा हुँदाहुँदै पनि त्यसलाई तत्काल सच्याउन नसक्नु सरकारको कमजोरी भएको शाहको भनाइ छ ।
उनका अनुसार प्रमुख प्रतिपक्षी दलको मुख्य असहमति नै गलत भनिएको बजेट कसरी पारित भयो भन्ने विषयमा केन्द्रित छ । प्रतिपक्षी दलहरूले बजेटमाथिको छलफल प्रक्रिया लोकतान्त्रिक ढंगले अघि नबढाइएको भन्दै सदन बहिष्कार गरेको अवस्थामा समेत सरकारले एकलौटी रूपमा बजेट पारित गरेको उनले आरोप लगाए ।
शाहले कांग्रेस पूरक बजेट ल्याउने वा संसदीय छानबिन समिति गठन गर्ने विषयमा सहमत नभएको स्पष्ट पारे । वर्तमान सरकारको नेतृत्वमा सुदूरपश्चिम प्रदेश अघि बढ्न नसक्ने दाबी गर्दै उनले नैतिकताका आधारमा सरकारमा सहभागी सबैले राजीनामा दिनुपर्ने बताए ।
यद्यपि, कांग्रेस नै सरकारमा सहभागी हुनुपर्छ भन्ने आफ्नो पार्टीको उद्देश्य नरहेको उनको भनाइ थियो ।