धनगढी, ६ मंसिर / स्थानीय उत्पादनको प्रवर्द्धन, महिला उद्यमशीलताको विकास र बजार विस्तार गर्ने उद्देश्यसहित धनगढीमा ‘आरोही उद्यमी मेला २०८३’ आयोजना हुने भएको छ ।
एफसीआई नेपालसहित विभिन्न संघसंस्था तथा साझेदारहरूको सहकार्यमा मंसिर ८ र ९ गते धनगढीस्थित होटल रुबसमा मेला आयोजना गर्न लागिएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
महिला उद्यमीहरूले उत्पादन गरेका स्थानीय तथा परम्परागत सामग्रीलाई बजारसम्म पुर्याउने, उनीहरूको उद्यमशील प्रयासलाई प्रोत्साहन गर्ने र सम्भावित ग्राहकसँग प्रत्यक्ष जोड्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो । मेलामा महिला उद्यमीहरूले उत्पादन गरेका मह, झोला, हस्तकलाका सामग्री, खाद्य सामग्रीलगायत विभिन्न वस्तुका करिब ३० वटा स्टल रहने आयोजकले जनाएको छ।
मेलाले स्थानीय उत्पादनको पहिचान र बजार पहुँच विस्तार गर्नुका साथै महिला उद्यमीहरूबीच अनुभव आदानप्रदान, सहकार्य र व्यावसायिक सम्बन्ध विकासका लागि साझा अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
यसैगरी, मेलाकै अवसरमा एफसीआई नेपालद्वारा सञ्चालित ‘आरोहीः मेन्टरशिप, सीप विकास र सहकार्यबाट महिलाको उद्यमशीलताको प्रवर्द्धन’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम समूहको छमहिने मेन्टरशिप कार्यक्रमको औपचारिक समापन गरिने समेत पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
उक्त कार्यक्रममार्फत सुदूरपश्चिम प्रदेशका महिला उद्यमीहरूलाई छ महिनासम्म अनुभवी मेन्टरसँग आबद्ध गराई व्यक्तिगत मार्गदर्शन, सीप विकास, ज्ञान आदानप्रदान तथा व्यावसायिक सञ्जाल विस्तारका अवसर प्रदान गरिएको थियो । समापन समारोहमा सहभागी उद्यमीहरूले आफ्नो छमहिने यात्राका उपलब्धि, अनुभव र सिकाइसमेत आदानप्रदान गर्नेछन् ।
फिनल्यान्डस्थित परराष्ट्र मन्त्रालय र युनेस्को बैङ्कको सहयोगमा सञ्चालित यस कार्यक्रमले महिला उद्यमीहरूको व्यावसायिक ज्ञान, सीप, आत्मविश्वास र नेतृत्व क्षमता अभिवृद्धि गर्दै उनीहरूको उद्यमलाई दिगो रूपमा अगाडि बढाउन सहयोग पुर्याउने आयोजकहरुले विश्वास गरेका छन्।
मेलामा प्रवेश निःशुल्क रहने छ ।