धनगढी, ६ मंसिर / कैलाली बहुमुखी क्याम्पसमा आमसञ्चार तथा पत्रकारिता विषय स्नातकोत्तर तहमा अध्यापन गराउने तयारी तीव्र पारिएको छ। यसै शैक्षिक सत्रदेखि पढाइ सञ्चालन गर्ने लक्ष्यसहित क्याम्पस तथा विश्वविद्यालयले पाठ्यक्रम निर्माण र आवश्यक तयारीलाई अगाडि बढाएका छन्।
पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक र वर्तमान सञ्चार क्षेत्रको आवश्यकताअनुसार परिमार्जन गर्ने उद्देश्यले आज कैलालीमा लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार तथा सञ्चारकर्मीसँग अन्तरक्रिया गरिएको छ। अन्तरक्रियामा तयार पारिएको पाठ्यक्रमको प्रारम्भिक ढाँचामाथि छलफल गर्दै सरोकारवालाबाट सुझाव संकलन गरिएको थियो।
कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. लोकबहादुर बिष्टले यसै वर्षदेखि स्नातकोत्तर तहमा आमसञ्चार तथा पत्रकारिता विषयको अध्यापन सुरु गर्ने तयारी भइरहेको जानकारी दिए। उनले पाठ्यक्रमलाई थप प्रभावकारी बनाउन पत्रकारिता क्षेत्रमा लामो अनुभव हासिल गरेका व्यक्तिहरूसँग सुझाव लिइएको बताए।
कार्यक्रममा आमसञ्चार विषयका उपप्राध्यापक भुवन भण्डारीले पाठ्यक्रमको प्रारम्भिक प्रारूपबारे जानकारी गराएका थिए। वर्तमान सञ्चार क्षेत्रको आवश्यकता र विद्यार्थीहरूको रुचिलाई ध्यानमा राखेर पाठ्यक्रम तयार गर्ने प्रयास भइरहेको बताउँदै उनले प्राप्त सुझावका आधारमा पाठ्यक्रमलाई थप परिमार्जन गरिने जानकारी दिए।
अन्तरक्रियामा क्याम्पस प्रमुख डा. लोकबहादुर बिष्ट, सहायक क्याम्पस प्रमुख डा. मोहन सिंह साउद, डा. घनश्याम भट्ट, सुदूरपश्चिम विश्वविद्यालय मानविकी संकायका विषय समिति संयोजक डा. राजेन्द्र वीर चन्द, क्याम्पसको मानविकी संकायका विभागीय प्रमुख हरिराम चौधरी, आमसञ्चारका अध्यापक टेकेन्द्र देउवालगायत पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
क्याम्पसमा एक महिनाभित्रै आमसञ्चार तथा पत्रकारिता विषयको स्नातकोत्तर तहमा भर्ना खुलाउने तयारी गरिएको छ। क्याम्पसले पत्रकारिता विषय अध्ययन गर्न इच्छुक विद्यार्थीलाई कैलाली बहुमुखी क्याम्पसमा भर्ना हुनसमेत आग्रह गरेको छ।