धनगढी, ५ धनगढी / रोजगारी र अवसरको खोजीमा दैनिक हजारौँ नेपाली युवा विदेशी भूमिमा पसिना बगाइरहेका छन्। स्वदेशमै केही गर्ने सम्भावना हुँदाहुँदै पनि अवसरको अभाव र उद्यमशीलताप्रतिको अन्योलका कारण विदेशिने युवाको संख्या बढिरहेका बेला कैलालीको धनगढीका एक युवाले भने आफ्नै ठाउँमा सम्भावना खोज्ने प्रयास गरेका छन्।
गोविन्द भट्ट र पुष्पादेवी भट्टका छोरा युगल भट्टले स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिन धनगढी उपमहानगरपालिका-३, चटकपुरमा ‘द हिडेन प्याराडाइज’ नामक रिसोर्ट सञ्चालनमा ल्याएका छन्।होटल व्यवस्थापन विषयको अध्ययनसँगै यस क्षेत्रको ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्ने उद्देश्यले अघि बढेका युगलले आफ्नै ठाउँमा उद्यम गर्ने बाटो रोजेका हुन्।
भट्टले आज ‘द हिडेन प्याराडाईज’को उद्घाटन समारोहमा भने, यो केवल एउटा व्यवसाय सञ्चालन गर्नुमा मात्र सीमित छैन, विदेशिने सोच बनाइरहेका युवालाई स्वदेशमै सम्भावना खोज्न प्रेरित गर्नु पनि हो। स्वदेशमै व्यवसाय सञ्चालन गर्दा आफू मात्र नभई अन्य व्यक्तिका लागि पनि रोजगारीको अवसर सिर्जना गर्न सकिने भट्टले उद्घाटन समारोहलाई सम्बोधन गर्दै बताए।
पछिल्लो समय युवाहरूमा वैदेशिक रोजगारीप्रतिको आकर्षण बढिरहेका बेला युगलको यो कदमले स्थानीय स्तरमै उद्यमशीलताको सम्भावनालाई उजागर गरेको छ। अवसर खोज्न सधैँ विदेश नै जानुपर्छ भन्ने सोचलाई चिर्दै आफ्नै माटोमा केही गर्ने उनको प्रयास उदाहरणीय बन्न सक्छ धनगढी उपमहानगरपालिका ३ का अध्यक्ष राज बहादुर ऐरले बताए ।
युगले पढाई सँगसँगै विदेशमा काम गरेर आर्जन गरेको अनुभवलाई व्यवसाय मार्फत उजागर गर्ने प्रयास गरेका छन्। ‘द हिडेन प्याराडाईज’ रिसोर्टलाई बिस्तारै पाँच तारे होटेल सम्म लिएर जाने युगलको योजना छ ।
आज आफ्नै हजुरबुवा र धनगढी उपमहानगरपालिका ३ का अध्यक्ष राज बहादुर ऐर र ४ का अध्यक्ष बुद्धि बहादुर खड्का, होटेल व्यवसायी संघका कैलाली जिल्ला अध्यक्ष केशवराज पाण्डेय र सञ्चारकर्मीहरुको उपस्थितिमा रिसोर्टको उद्घाटन गरेका हुन्।