धनगढी, २४ कार्तिक/तिहारको मौका छोपी वन क्षेत्रमा अवैध रूपमा काठ कटान तथा चिरान भइरहेको आशंकामा डिभिजन वन कार्यालय पहलमानपुरले अनुगमन र निगरानीलाई तीव्र बनाएको छ। वन कार्यालयको टोलीले कैलालीको घोडाघोडी नगरपालिका–११, टप्पास्थित एक सःमिलबाट सालका काठ बरामद गरेको छ।
विशेष सूचनाका आधारमा डिभिजन वन कार्यालय पहलमानपुरको टोलीले शिवपार्वती सःमिल तथा फर्निचर उद्योगमा छापा मार्दा सालका गोलिया चिरान भइरहेको अवस्थामा फेला पारेको हो। अनुगमनका क्रममा चिरान भइरहेको सालको काठ नियन्त्रणमा लिई बरामद गरिएको वन कार्यालयले जनाएको छ। उक्त काठ त्रिशक्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जग्नु कठरियाको रोहबरमा चिरान भइरहेको बताइएको छ।
वन कार्यालयका अनुसार बरामद गरिएको काठमा सालका गोलिया ४ थान र सालका कडी १५ थान रहेका छन्। बरामद सम्पूर्ण काठ नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा थप प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ।