धनगढी, १० कार्तिक/नेपाल तरुण दल कैलालीले आफ्नो स्थापना दिवसको अवसरमा असहायलाई खाना तथा सेती प्रादेशिक अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरेको छ।
तरुण दल कैलालीका अध्यक्ष नरेश कुँवरको नेतृत्वमा धनगढीका दुई स्थानमा परोपकारी कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाइएको हो। दलले दृष्टि फाउण्डेसनमा आश्रित असहाय व्यक्तिलाई खाना खुवाउनुका साथै सेती प्रादेशिक अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरेको जनाएको छ।
स्थापना दिवसलाई सामाजिक सेवासँग जोड्दै तरुण दलले असहाय तथा बिरामीलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको अध्यक्ष कुँवरले बताए। उनले नेपालको लोकतान्त्रिक इतिहासमा गौरवपूर्ण योगदान रहेको नेपाल तरुण दलले युवालाई सामाजिक सेवामा सक्रिय बनाउँदै आएको उल्लेख गरे।
युवाहरूको ऊर्जा र क्षमतालाई समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्यमा उपयोग गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष कुँवरले आगामी दिनमा पनि रचनात्मक तथा सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने बताए। कार्यक्रममा नेपाल तरुण दलका युवा नेता तथा कार्यकर्तासहित नेपाली कांग्रेसका विभिन्न तहका नेता र कार्यकर्ताहरूको सहभागिता रहेको थियो।