धनगढी , २९ असोज / प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको आयोजनामा ‘विश्वविद्यालय अनुदान आयोग र नेपालको उच्च शिक्षा’ विषयक राष्ट्रिय शिक्षा कार्यशाला काठमाडौंमा सम्पन्न भएको छ। नेपालको उच्च शिक्षाको वर्तमान अवस्था, विश्वविद्यालय अनुदान आयोगको भूमिका, विश्वविद्यालयहरूको शैक्षिक उत्तरदायित्व तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका विषयमा केन्द्रित कार्यशालामा शिक्षाविद्, विश्वविद्यालयका पदाधिकारी तथा प्राध्यापकहरूले विचार–विमर्श गरेका छन्।
कार्यशालामा उच्च शिक्षाको विद्यमान अवस्था, नीतिगत सुधारको आवश्यकता, विश्वविद्यालयहरूको प्राज्ञिक जिम्मेवारी र शैक्षिक गुणस्तर अभिवृद्धिका उपायबारे कार्यपत्र प्रस्तुति, टिप्पणी, छलफल तथा प्यानल डिस्कसन गरिएको थियो। सहभागीहरूले नेपालको उच्च शिक्षालाई थप गुणस्तरीय, उत्तरदायी र समयानुकूल बनाउन विश्वविद्यालय अनुदान आयोग तथा विश्वविद्यालयहरूको भूमिका महत्त्वपूर्ण रहेको विषयमा आ–आफ्ना धारणा राखेका थिए।
कार्यशालामा विश्वविद्यालय अनुदान आयोगका पूर्व अध्यक्ष प्रा.डा. भीमप्रसाद सुवेदी, आयोगका सदस्य सचिव प्रा.डा. रोजी श्रेष्ठ, भारतको विश्वविद्यालय अनुदान आयोगका पूर्व सचिव प्रा.डा. मनिष जोशी, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति सहप्रा. राजन सुवाल तथा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुनिलकुमार जोशीलगायतको विशेष उपस्थिति रहेको थियो।
त्यसैगरी त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. तीर्थ खनिया, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. उपेन्द्र कोइराला, प्रा.डा. अम्माराज जोशी, पूर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. विजुकुमार थपलियालगायत विभिन्न विश्वविद्यालयका पूर्व पदाधिकारी तथा शिक्षाविद्हरूको सहभागिता रहेको थियो। विभिन्न विश्वविद्यालयका रजिस्ट्रार, डिन, विभागीय प्रमुख, क्याम्पस प्रमुख, प्राध्यापक तथा शिक्षा क्षेत्रका अन्य सरोकारवालाहरू पनि कार्यशालामा सहभागी भएका थिए।
कार्यशालाअन्तर्गत आयोजित विषयगत सत्रमा प्रा.डा. विजुकुमार थपलियाले ‘विश्वविद्यालय अनुदान आयोग र नेपालको उच्च शिक्षा’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। प्रस्तुत कार्यपत्रमाथि शिक्षाविद् एवं योजना आयोगका पूर्व सदस्य प्रा.डा. पुष्करमान बज्राचार्य र त्रिभुवन विश्वविद्यालयका शिक्षाशास्त्र संकायका डिन प्रा.डा. वेदराज आचार्यले टिप्पणी गरेका थिए। कार्यपत्रमाथिको छलफलमा उच्च शिक्षाको वर्तमान अवस्था, विश्वविद्यालय अनुदान आयोगको कार्यक्षेत्र, विश्वविद्यालयहरूको संस्थागत प्रभावकारिता तथा शैक्षिक सुधारका सम्भावनाबारे विमर्श गरिएको थियो।
कार्यशालाको अर्को महत्त्वपूर्ण पक्षका रूपमा विभिन्न विषयमा केन्द्रित प्यानल डिस्कसन सञ्चालन गरिएको थियो। प्रा.डा. गंगाराम गौतमको सञ्चालनमा सम्पन्न प्यानल छलफलमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. उपेन्द्र कोइराला, शिक्षाविद् एवं विश्वविद्यालय अनुदान आयोगका पूर्व सदस्य प्रा.डा. गोविन्द नेपाल, आयोगका सदस्य सचिव प्रा.डा. रोजी श्रेष्ठ, भारतको विश्वविद्यालय अनुदान आयोगका पूर्व सचिव प्रा.डा. मनिष जोशी तथा अमेरिकाको मेरिल्याण्डस्थित मोर्गन स्टेट विश्वविद्यालयका प्राध्यापक प्रा.डा. कृष्ण विष्ट सहभागी थिए।
त्यसैगरी प्रा.डा. रामजी गौतमको अध्यक्षतामा सम्पन्न अर्को प्यानल छलफलमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. तीर्थ खनिया, प्रा.डा. गोविन्द नेपाल, प्रा.डा. मनिष जोशी तथा प्रा.डा. कृष्ण विष्ट सहभागी थिए। छलफलमा विश्वविद्यालय अनुदान आयोग र विश्वविद्यालयबीचको सम्बन्ध, उच्च शिक्षाको संस्थागत विकास तथा शैक्षिक उत्तरदायित्वका विषयमा विचार आदानप्रदान गरिएको थियो।
नेपालको उच्च शिक्षालाई समयसापेक्ष बनाउने, विश्वविद्यालयहरूको शैक्षिक तथा प्राज्ञिक क्षमता अभिवृद्धि गर्ने र नीतिगत सुधारका विषयमा सरोकारवालाबीच सार्थक संवाद स्थापित गर्ने उद्देश्यले आयोजित कार्यशालाले शिक्षा क्षेत्रका विभिन्न पक्षलाई एउटै मञ्चमा ल्याएको थियो। विश्वविद्यालय अनुदान आयोगको भूमिका र विश्वविद्यालयहरूको जिम्मेवारीबारे भएका छलफलले उच्च शिक्षाको सुधारसम्बन्धी विषयलाई थप विमर्शको केन्द्रमा ल्याएको आयोजकको उद्देश्यसँग मेल खाने देखिन्छ।
प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले नेपालको शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि, शैक्षिक सुधार तथा उच्च शिक्षासम्बन्धी नीतिगत विषयमा बहस र विमर्शलाई प्राथमिकता दिँदै यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ। परिषद्ले शैक्षिक क्षेत्रका समस्या, चुनौती र सुधारका सम्भावनाबारे प्राज्ञिक समुदाय तथा सरोकारवालाबीच संवाद विस्तार गर्ने उद्देश्यसहित राष्ट्रियस्तरका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।