बझाङ, २८ असोज / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बझाङले सञ्चालन गरेको ‘हामी आउँदैछौँ’ अभियानअन्तर्गतको विशेष कार्यक्रम सम्पन्न भएको छ। अभियानका क्रममा जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर स्थानीय नागरिक, पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट तथा संवाद गरिएको छ।
अभियानमा प्रतिनिधिसभा सदस्य कोमल ज्ञवाली सुवेदी, रास्वपा सुदूरपश्चिम प्रदेश उपसभापति भोजराज जोशी, प्रदेश समिति सदस्य बिना बिष्ट र गणेश शाही तथा जिल्ला सभापति सत्यराज उपाध्यायसहित पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।
रास्वपाले सञ्चालन गरेको ‘हामी आउँदैछौँ’ अभियान नागरिकका समस्या, अपेक्षा र गुनासा सुन्ने तथा सरकार र जनप्रतिनिधिप्रति नागरिकको धारणा बुझ्ने उद्देश्यले देशभर सञ्चालन भइरहेको छ।
रास्वपा सुदूरपश्चिम प्रदेश समिति सदस्य बिना बिष्टले अभियानमार्फत नागरिकका समस्या, अपेक्षा र गुनासा प्रत्यक्ष रूपमा सुन्ने तथा उनीहरूका सवाललाई सम्बोधन गर्ने अवसर जुरेको बताइन्। उनले नागरिकबाट प्राप्त सुझावले पार्टीलाई जनताका वास्तविक समस्या र आवश्यकताबारे बुझ्न सहयोग पुगेको बताइन्।