अछाम, २८ असोज / नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत साफेबगर नगर कार्यसमितिको अधिवेशनबाट २८ वर्षीय युवा नेता अशोक कुँवर नगर सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्। पार्टीभित्र पुराना नेताहरूको प्रभाव र नयाँ पुस्ताको नेतृत्वबारे बहस भइरहेका बेला कुँवरको चयनले स्थानीय कांग्रेस राजनीतिमा प्रभाव थप बलियो परेको छ।
साफेबगर नगर कार्यसमितिको नेतृत्वमा कुँवरको सर्वसम्मत चयनले युवा पुस्तालाई संगठनको नेतृत्वमा अघि सारिएको सन्देश दिएको छ। २८ वर्षको उमेरमै नगर सभापतिको जिम्मेवारी सम्हाल्ने अवसर पाएका कुँवरका लागि अब पार्टी संगठनलाई मजबुत बनाउने, कार्यकर्तालाई एकताबद्ध गर्ने र युवाको सहभागिता बढाउने चुनौती र अवसर दुवै छन्।
अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाह प्रमुख अतिथिका रूपमा सहभागी थिए। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री एवं निवर्तमान सामाजिक विकासमन्त्री मेघराज खड्का विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। नगर संयोजक नरेन्द्र कुँवरको संयोजनमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो।
नवनिर्वाचित नगर कार्यसमितिको सभापतिमा कुँवर सँगै उपसभापतिमा कमला कुमारी भण्डारी र टंकबहादुर बुढा, सचिवमा कृष्ण बि.क. र तारामान कुँवर,सहसचिवमा लालबहादुर कुँवर र दीपक बटाला चयन भएका छन् ।
यो सँगै साँफेबगर नगरपालिकामा कांग्रेस इतर पक्ष युवाको नेतृत्वले थप बलियो र प्रभावशाली बनेको छ ।