धनगढी, २८ असोज / धनगढीको बोराडाँडीस्थित नेचर हाउसमा अब बोटिङ अर्थात् डुङ्गा सयरको आनन्द लिन पाइने भएको छ। सञ्चालनको तेस्रो वार्षिकोत्सवको अवसर पारेर नेचर हाउसले बोटिङ सेवा थप गरेको हो।
एक कार्यक्रमका बीच धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष राजबहादुर ऐरले बोटिङ सेवाको शुभारम्भ गरेका हुन्। विगत तीन वर्षदेखि सञ्चालनमा रहेको नेचर हाउसले धनगढीको व्यवसाय प्रवर्द्धनसँगै पर्यटन विकासमा समेत योगदान पुर्याएको वडाध्यक्ष ऐरले बताए। बोटिङ सेवा सुरु भएसँगै नेचर हाउसमा पर्यटकको आकर्षण थप बढ्ने उनको विश्वास छ।
फेमिली रेस्टुरेन्टका रूपमा सञ्चालित नेचर हाउसमा ताल, जंगल र गाउँको परिवेश झल्किने संरचना रहेका छन्। पर्यटकको माग र आकर्षणलाई ध्यानमा राख्दै दुईवटा पेडल बोट र एउटा मोटरबोटसहित बोटिङ सेवा सञ्चालनमा ल्याइएको सञ्चालक योगेन्द्र चन्दले बताए।
तेस्रो वार्षिकोत्सवको अवसरमा नेचर हाउसले आज साँझ लाइभ म्युजिक कार्यक्रमसमेत आयोजना गरेको छ। बोटिङसहितका नयाँ सुविधाले नेचर हाउसलाई आन्तरिक पर्यटकका लागि थप आकर्षक गन्तव्य बनाउने अपेक्षा गरिएको छ।