दार्चुला, २२ असोज / दार्चुला सदरमुकाम खलङ्गास्थित महाकाली नगरपालिका क्षेत्रमा चाडपर्व लक्षित संयुक्त बजार अनुगमन गरिएको छ।सुदूरपश्चिम प्रदेशस्तरीय संयुक्त बजार अनुगमन निर्देशिका, २०७६ बमोजिम घरेलु तथा साना उद्योग कार्यालय, दार्चुलाको संयोजनमा गठित अनुगमन टोलीले बजार अनुगमन गरेको हो। चाडपर्वका बेला बजारमा हुने कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि र मिसावट नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्रता दिइएको छ।
खलङ्गाको बङ्गाबगड क्षेत्रका बजारमा संयुक्त अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय दार्चुलाका प्रमुख रमेशसिंह ओखेडाले जानकारी दिए। चाडपर्वको समयमा बजारमा रहेका पसलमा म्याद गुज्रिएका खाद्यवस्तुको बिक्री तथा वस्तुको मूल्यमा एकरूपता नभएको जनगुनासो बढेपछि बजार अनुगमन गरिएको उनले बताए।
अनुगमनका क्रममा २७ वटा व्यावसायिक फर्मको निरीक्षण गरिएको थियो। सो क्रममा १२ हजार ३२० रुपियाँ मूल्य बराबरका म्याद गुज्रिएका खाद्यवस्तु बरामद गरी नष्ट गरिएको प्रमुख ओखेडाले जानकारी दिए।
उपभोक्ताको अधिकार सुनिश्चित गर्न बजार अनुगमनलाई प्रभावकारी बनाउने योजनाअनुसार संयुक्त अनुगमन गरिएको उनले बताए। अनुगमनका क्रममा म्याद गुज्रिएका मिट मसला, भुजा, बियर तथा विभिन्न खाद्य सामग्री भेटिएको थियो।
खाद्य तथा पेय पदार्थको म्याद, मूल्यसूची, वस्तुको गुणस्तरलगायत विषय जाँच गर्नुका साथै पसलको दर्ता तथा नवीकरणको अवस्थासमेत अनुगमन गरिएको छ। खाद्यान्न, तरकारी, इन्धनजस्ता अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना हुन नदिन तथा महँगी नियन्त्रण गर्न बजार अनुगमनलाई प्राथमिकतामा राखिएको उनले बताए ।
अनुगमनका क्रममा उपभोक्तालाई स्वच्छ र सुरक्षित खाद्यवस्तु उपलब्ध गराउन मिठाई पसल, होटल तथा खाद्य गोदाममा म्याद गुज्रिएका सामान र मिसावटको समेत परीक्षण गरिएको थियो।
यसैबिच, दसैँ–तिहार नजिकिएसँगै खलङ्गावासीलाई किनमेलको चटारो परेको छ। सीमावर्ती भारतीय बजार धारचुलामा किनमेलका लागि जानेको भीड बढेको छ। साथै, सीमावर्ती नाकाबाट घर फर्कने नेपालीको पनि लर्को लाग्न थालेको छ। अहिले खलङ्गा नाका हुँदै दैनिक सयौँ नेपाली भारतबाट फर्किरहेका छन्।
खलङ्गास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय दार्चुलाले दसैँ–तिहार लक्षित गर्दै खाद्यान्नमा छुट दिने भएपछि त्यहाँ पनि स्थानीयको भीड लाग्न थालेको छ। कम्पनीले असोज २२ गतेदेखि सबै किसिमका चामलमा साविक मूल्यमा प्रतिकिलो पाँच रुपियाँ छुट दिई बिक्री गर्ने जनाएको छ।
शाखा कार्यालय दार्चुला र डिपो कार्यालय खण्डेश्वरीमार्फत सहुलियतमा खाद्यान्न बिक्री गर्ने योजना रहेको निमित्त कार्यालय प्रमुख हर्कराज उपाध्यायले जानकारी दिए ।