धनगढी, २२ असोज / सुदूरपश्चिम प्रदेश सभाको आज बिहान बोलाइएको बैठक स्थगित भएको छ। प्रदेश सरकारले बजेट प्रस्तुत गर्ने प्रयोजनका लागि बोलाइएको बैठक लगातार दोस्रो पटक स्थगित भएको हो। यसअघि बुधबार साँझ ५ बजेका लागि बोलाइएको बैठक पनि सरकारले बजेट प्रस्तुत गर्ने सम्भावना नदेखिएपछि स्थगित गरिएको थियो।
प्रदेश सभा सचिवालयका सूचना अधिकारी ताराकुमारी जोशीले अर्को बैठक असोज २४ गते बिहान ८ बजेका लागि बोलाइएको जानकारी दिए।
चालु आर्थिक वर्षका लागि बजेट नहुँदा सुदूरपश्चिम प्रदेश सरकारले साउनदेखि बजेट शून्यताको अवस्था झेलिरहेको छ। प्रदेश सरकारले प्रदेश सभामा बजेट प्रस्तुत गर्ने तयारी गरे पनि अहिलेसम्म सदनमा बजेट पेस गर्न सकेको छैन। यसअघि असार १ गते तत्कालीन सरकारले प्रस्तुत गरेको बजेट पारित हुन सकेको थिएन।