धनगढी, २२ असोज / ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने मूल नाराका साथ २९औँ विश्व दृष्टि दिवसको अवसरमा गेटा आँखा अस्पतालले जनचेतनामूलक र्यालीसहित विभिन्न कार्यक्रम गरेको छ।
दृष्टि सुरक्षासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले आयोजित र्यालीमा गेटा आँखा अस्पतालका कर्मचारी, व्यवस्थापन समितिका पदाधिकारी, सञ्चारकर्मी तथा स्थानीयको सहभागिता रहेको थियो। सहभागीहरूले आँखाको सुरक्षा र दृष्टिको महत्त्वबारे जनचेतना फैलाउने विभिन्न नारासहितका प्लेकार्ड बोकेर र्याली निकालेका थिए।
र्यालीमा ‘बालबालिकाको दृष्टिको सुनिश्चितता, नेपाल नेत्र ज्योति सङ्घको प्रतिबद्धता’, ‘महिलाले आँखा देखे घरै उज्यालो’, ‘कार्यस्थलमा आँखालाई माया गरौँ’, ‘संसार टेकाउने आमा, संसार देखाउने आमा’ लगायतका नारासहितका प्लेकार्डको प्रदर्शन गरिएको थियो।
विश्व दृष्टि दिवसकै अवसरमा अस्पतालमा आँखाको शल्यक्रिया गरेका बिरामीलाई फलफूल वितरण गरिएको छ। यस्तै, नेपाल प्रहरी विशेष सुरक्षा गण, वाणी कञ्चनपुरको सहकार्यमा गेटा आँखा अस्पताल परिसरमा सरसफाइ कार्यक्रमसमेत गरिएको अस्पतालका कार्यवाहक अस्पताल व्यवस्थापक तथा सूचना अधिकारी मानबहादुर चौधरीले जानकारी दिए।
उनले मानवसेवा आश्रममा निःशुल्क आँखा परीक्षण तथा उपचारलगायतका कार्यक्रमसमेत गरिने बताए।
यस्तै आज मध्यान्नसम्म गेट आँखा अस्पताल लगायतका अन्य आँखा उपचार केन्द्रमा समेत बिरामीको नामदर्ता निःशुल्क रहेको अस्पतालकी मेडिकल निर्देशक डा. सुजता भण्डारीले बताइन्।
र्यालीलाई सम्बोधन गर्दै नेत्र ज्योति सङ्घ कैलालीका अध्यक्ष लोकराज जोशीले सबैका लागि दृष्टि महत्वपूर्ण रहेको बताए। दृष्टिबिना संसार नै अँध्यारो हुने भन्दै उनले आँखाको दृष्टि जोगाउन नेपाल नेत्र ज्योति सङ्घ प्रतिबद्ध भएर काम गरिरहेको बताए।
अध्यक्ष जोशीले सबैलाई आफ्नो आँखाको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरे। आँखामा देखिने सानातिना समस्यालाई समेत बेवास्ता नगरी समयमै उपचार गराउन र नियमित रूपमा आँखा परीक्षण गराइरहन उनले आग्रह गरे।
दृष्टिसम्बन्धी समस्या समयमै पहिचान गरी उपचार गर्न सके आँखाको दृष्टि जोगाउन सकिने भएकाले नियमित आँखा परीक्षण र आँखाको सुरक्षाप्रति सचेत हुनुपर्नेमा मे जोड दिइएको थियो।