धनगढी, १२ असोज / राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, सुदूरपश्चिम प्रदेशले कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पूर्ण समावेशी तथा अपाङ्गतामैत्री बनाउन १३ बुँदे सुझाव दिएको छ। महासंघले विश्वविद्यालयका उपकुलपति सुनिलकुमार जोशीलाई सुझावपत्र बुझाउँदै भौतिक संरचना, स्वास्थ्य तथा शैक्षिक सेवा, सूचना प्रविधि, प्रशासन र रोजगारीका अवसरलाई अपाङ्गतामैत्री बनाउन आग्रह गरेको हो।
सुझावपत्रमा र्याम्प, लिफ्ट, ट्याक्टाइल पथ, ब्रेल संकेत, पहुँचयुक्त शौचालय, आपत्कालीन निकास तथा पहुँचयुक्त डिजिटल प्रणालीको व्यवस्था गर्नुपर्ने उल्लेख छ। साथै अपाङ्गता भएका विद्यार्थीका लागि आवश्यक सहजीकरण, परीक्षा सुविधा र पहुँचयुक्त शैक्षिक सामग्री उपलब्ध गराउन सुझाव दिइएको महासंघका प्रदेश अध्यक्ष नन्दराज भट्टले जानकारी दिए।
महासंघले विश्वविद्यालयमा अपाङ्गता समावेशी नीति निर्माण, Accessibility Audit तथा अपाङ्गता समावेशी विपद् व्यवस्थापन योजना लागू गर्न र नीति निर्माणमा अपाङ्गता भएका व्यक्तिको सहभागिता सुनिश्चित गर्न माग गरेको छ।
सुझावपत्र ग्रहण गर्दै उपकुलपति जोशी र रजिस्ट्रार भीमबहादुर चन्दले अपाङ्गताको संवेदनशीलतालाई आफूहरूले बुझेको भन्दै विश्वविद्यालयलाई नीतिगत, योजनागत, प्रशासनिक र संरचनागत रूपमा अपाङ्गतामैत्री बनाउन प्रतिबद्ध रहेको बताएका छन्।
महासंघका प्रदेश अध्यक्ष नन्दराज भट्टद्वारा हस्ताक्षरित सुझावपत्र बुझाउन उपाध्यक्ष निर्मला बिष्ट, प्रवक्ता रुपारानी राई, प्रदेश समन्वय विभाग प्रमुख खडकराज भट्ट र सहसचिव रामप्रसाद जोशीलगायत सहभागी थिए।