बैतडी, ८ असोज / जल तथा मौसम विज्ञान विभागले आजदेखि ठूलो बर्षाको सम्भावना रहेको बताएपछि जिल्ला प्रशासन कार्यालय बैतडीले सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रशासनले एक सूचना जारी गर्दै पानी परेको बेला ग्रामीण कच्ची सडकमा राति ७ बजेदेखि बिहान ६ बजेसम्म सवारी साधन सञ्चालन नगर्न आग्रह गरेको छ । यस्तै लामो दुरीको यात्रा गर्दा बर्षाको अवस्था हेरेरमात्रै यात्रा गर्न प्रशासनले आग्रह गरेको हो ।
मुख्य राजमार्ग तथा ग्रामीण सडक अवरुद्ध भएमा तत्काल सञ्चालन गर्नका लागि स्काभेटर, डोजर लगायतका उपकरण तयारी अवस्थामा राख्न सडक कार्यालय, स्थानीय तह र सम्बन्धित निकायलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन् ।
बर्षाको समयमा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न आग्रह गरिएको छ । यस्तै पहिरोको जोखिममा रहेका बस्ती तथा घरपरिवारलाई बिशेष सतर्कता अपनाउन भनिएको छ ।
विपद्को जोखिमप्रति सचेत रहन, मौसमसम्बन्धी पूर्वसूचना र आधिकारिक जानकारीलाई ध्यान पूर्वक पालना गर्न प्रशासनले आग्रह गरेको छ ।
यसका साथै विपद्सम्बन्धी आवश्यक सूचना र विपद्बाट तत्काल उद्धारको लागि जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रको नम्बर १२३४, नेपाल प्रहरीको नम्बर १०० र सशस्त्र प्रहरी बलको नम्बर १११४ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।