बैतडी, ४ असोज / बैतडीमा सम्भावना बोकेको तीन वटा फलामखानी उत्खनन हुन नसक्दा थन्किएका छन् । उत्खननको पर्खाइमा रहेको सिगास गाउँपालिका–१, सुगरखालस्थित बल्लेकानामा फलामखानी पत्ता लागे पनि उत्खनन हुन सकेको छैन ।
खानी तथा भूगर्भ विभागबाट अनुमति लिएर शुभम् मिनरल्स प्रालिले प्रारम्भिक खोज तथा भौगर्भिक परीक्षणका क्रममा उच्च सम्भावनासहितको फलाम भण्डार फेला पारे पनि उत्खननको काम अघि बढ्न नसकेको हो ।
परीक्षणका क्रममा त्यहाँ ३८ प्रतिशतसम्म ‘म्याग्नाइट आइरन’ पाइएको छ, जसबाट निस्कने ‘म्याग्नाइट ओर’ आधुनिक स्टिल र सिमेन्ट उद्योगका लागि निकै महत्वपूर्ण कच्चा पदार्थ मानिन्छ तर सम्भावना उच्च भए पनि खानी उत्खनन हुन नसकेको सिगास गाउँपालिका–१, का वडाध्यक्ष रामचन्द्र ऐरीले बताए । खोज अनुसन्धान गर्ने कम्पनीका मानिस पनि पछिल्लो समय सम्पर्कमा नआएको उनले बताए ।
खानीक्षेत्र सामुदायिक वनक्षेत्रभित्र पर्ने भएकाले वन तथा वातावरण मन्त्रालयबाट जग्गा प्रयोगसम्बन्धी सहजीकरण नहुँदा थप प्रक्रिया अगाडि बढ्न नसकेको बुभिएको छ । पछिल्लो समय कम्पनीका प्रतिनिधि पनि वडा कार्यालयको सम्पर्कमा नआएको उनले बताए ।
स्थानीय, प्रदेश र सङ्घीय सरकारबिच खानीसम्म पुग्ने पहुँचमार्ग निर्माण तथा विद्युतीकरणका लागि प्रभावकारी बजेट विनियोजन र ठोस समन्वय हुन सकेको वडाध्यक्ष ऐरीले बताए ।