बाजुरा, ४ असोज / बाजुराका विभिन्न स्थानीय तहमा रहेका करिब ९६ गाउँबस्ती वर्षौंदेखि बाढीपहिरोको जोखिममा छन्। जोखिममा रहेका बस्ती सुरक्षित ठाउँमा सार्ने योजना बने पनि धेरै परिवार अझै त्यही जोखिमपूर्ण ठाउँमा बस्न बाध्य छन्।
भिरालो जमिन, कमजोर भू-बनोट, नदी कटान, सडक निर्माणका क्रममा गरिएको जथाभावी कटान र वर्षायाममा हुने भारी वर्षाका कारण जिल्लाका धेरै बस्तीमा पहिरोको जोखिम बढेको हो। स्थानीयका अनुसार वर्षा सुरु भएपछि जोखिममा रहेका बस्तीका बासिन्दा रातभर डरमा बस्नुपर्ने अवस्था छ। सुरक्षित ठाउँमा घर बनाउन सक्ने आर्थिक अवस्था नहुँदा उनीहरू जोखिम मोलेरै पुरानै ठाउँमा बसिरहेका छन्।
बुढीगङ्गा नगरपालिका-२ अम्कोटको बस्ती करिब दुई दशकदेखि पहिरोको जोखिममा छ। स्थानीय कल्धरी नेपालीका अनुसार पहिरोको जोखिम बढ्दै गए पनि अहिलेसम्म बस्ती स्थानान्तरण हुन सकेको छैन। उहाँ भन्नुहुन्छ, “पहिरोले बस्ती छोड भनिसक्यो। तर घर छोडेर कहाँ जाने भन्ने समस्या छ। घरमै बस्दा पनि कुन रात पहिरोमा परिने हो भन्ने डर हुन्छ।”
उहाँका अनुसार हिउँदमा अवस्था सामान्य भए पनि वर्षायाम सुरु भएपछि घरमा बस्नसमेत डर लाग्ने गर्छ।
नौ स्थानीय तहका बस्ती जोखिममा
जिल्लाको बडीमालिका नगरपालिकाका १६, बुढीगङ्गाका १२, त्रिवेणीका १६, बुढीनन्दाका ११, गौमुलका १२, खप्तड छेडेदहका १०, जगन्नाथका पाँच, स्वामीकार्तिक खापरका सात र हिमाली गाउँपालिकाका चार बस्ती जोखिममा रहेका छन्।
हिमालीका कवाडी, क्वीडी, बोर्ता र बोल्डीकसहित स्वामीकार्तिक खापरका रुडी, छुदरी, पुडेनी, घट्टा, तल्लो जुकु, जेरा र डाँडावाडा जोखिममा छन्।
त्यस्तै, जगन्नाथका लुमा, आसवाडा र पैयापहिरो, बुढीनन्दाका मटेला, पार्तोला, रावतवाडा, पिपलडाली, कोल्टीलगायतका बस्ती पनि स्थानान्तरणको पर्खाइमा छन्।
बडीमालिकाका सल्लेना, मैमातोला, बिष्टवाडा, बथानलेख, उखाडी र जिल्ली तथा गौमुलका दुर्गाली, खौला, अन्द्राडी, कुहुडा, पौदाली, आगरपाते, गर्जे, कौडाकोटलगायतका बस्ती पनि जोखिममा रहेका छन्।
बुढीगङ्गाका अम्कोट, बजेडी, काप्रा, देनसायल, निमनी र बेलकाटियालगायतका बस्तीमा पनि पहिरोको जोखिम रहेको छ। त्रिवेणी र खप्तड छेडेदहका विभिन्न बस्ती पनि यही समस्याबाट प्रभावित छन्।
सुरक्षित ठाउँ पहिचान, तर सार्न कठिन
स्थानीय तहले जोखिममा रहेका परिवारलाई सार्न सकिने केही सुरक्षित क्षेत्र पहिचान गरेका छन्। पिनालेख, चुथी, मैमातोला खोया, चौसाल, बर्दादेवी क्षेत्र, करासैन, पाण्डुसैन, अम्लिस, बासैन, डोप्केगडा, चौढुङ्गा, मेलपाटा, खरिपाटा, बर्मे, लामगाउँ, काडाकोट, गोत्री, मनिकाडा, सुईजिउला, कप्साडी, तिथिचौर, साँखा, धुलाचौर र युनाबगर क्षेत्रलाई सुरक्षित स्थानका रूपमा हेरिएको छ।
तर बस्ती सार्न जग्गा व्यवस्थापन, घर निर्माण, सडक, खानेपानी तथा अन्य पूर्वाधारको आवश्यकता पर्ने भएकाले काम अघि बढाउन चुनौती रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार जोखिममा रहेका बस्ती तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था भए पनि आवश्यक प्रक्रिया पूरा गर्न समय लाग्दा समस्या भएको छ।
“बस्ती जोखिममा छन्। ती बस्ती तुरुन्तै अन्यत्र सार्नुपर्ने अवस्था छ। तर प्रक्रिया नमिलेका कारण सुरक्षित स्थानमा सार्न सकिएको छैन,” उहाँले भन्नुभयो।
सात वर्षमा ६२ जनाको मृत्यु
बाजुरामा पछिल्ला वर्षमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार २०७७ सालदेखि हालसम्म बाढीपहिरोलगायत विपद्का घटनामा करिब ६२ जनाले ज्यान गुमाएका छन्।
यस अवधिमा एक हजार ७२८ रोपनीभन्दा बढी खेतीयोग्य जमिनसमेत बगरमा परिणत भएको प्रहरीले जनाएको छ।
वर्षेनी विपद्को जोखिम बढ्दै गए पनि जोखिममा रहेका बस्ती सुरक्षित स्थानमा सार्न नसक्दा स्थानीयको समस्या भने यथावत् छ। अहिले बाजुराका धेरै परिवारका लागि वर्षायाम भनेको घरभित्रै बसेर पहिरोको डरमा रात काट्ने समय बनेको छ।