धनगढी, ४ असोज / कैलालीको लम्कीचुहा नगरपालिका-३, बल्चौरस्थित मुक्त कमैया सामुदायिक वनबाट अवैध रूपमा कटान गरी ओसारपसार गर्न लागिएको १४.३५ क्यूफिट सालको काठसहित एक जना पक्राउ परेका छन्। शनिबार राति वन क्षेत्रबाट चोरी गरी ल्याइँदै गरेको अवस्थामा ७.७९ र ६.५६ क्यूफिटका दुई गोलिया सालको काठ बरामद गरिएको हो।
काठ ओसारपसारमा प्रयोग गरिएका सु.प.प्र. ०१–००८ प ५६२३ र से.७ प ६४०९ नम्बरका दुई मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ। मुक्त कमैया सामुदायिक वन उपभोक्ता समूह, स्थानीय युवा क्लब तथा सब–डिभिजन वन कार्यालय लम्कीको संयुक्त टोलीले रातिको गस्तीका क्रममा काठसहित मोटरसाइकल नियन्त्रणमा लिएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हितुलाल चौधरीले जानकारी दिए।
उनका अनुसार काठ चोरीमा संलग्न जानकी गाउँपालिका–८, भगरैयाका सर्वन चौधरी पक्राउ परेका छन् भने घटनामा संलग्न अर्का एक जना फरार छन्।पछिल्ला केही दिनदेखि रातिको समयमा मुक्त कमैया सामुदायिक वन र कैलाशधाम धार्मिक वन क्षेत्रमा हरिया रूख कटान गरी काठ चोरी हुने क्रम बढेपछि स्थानीयले राति गस्ती गर्दै आएका थिए।शनिबार राति २ः५५ बजे पूर्व–पश्चिम महेन्द्र राजमार्गको बल्चौर चोक नजिकै काठ लोड गरिएका मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिइएको हो।
बरामद काठ र मोटरसाइकल सब–डिभिजन वन कार्यालय लम्कीमा बुझाइएको छ। पक्राउ परेका चौधरीमाथि अनुसन्धान भइरहेको र फरार व्यक्तिको खोजी जारी रहेको कार्यालयले जनाएको छ।