धनगढी , ४ असोज / सुदूरपश्चिम प्रदेशमा रहेका स्थानीय सम्भावना, स्रोत, सीप, प्रविधि र बजार अवसरलाई व्यावहारिक तथा लगानीयोग्य उद्यममा रूपान्तरण गर्ने उद्देश्यसहित ‘सुदूरपश्चिम नवउद्यमी सम्मेलन २०८३’ आयोजना हुने भएको छ। सुदूरपश्चिम विश्वविद्यालय, कैलाली बहुमुखी क्याम्पसअन्तर्गतको इन्क्युबेसन सेन्टरको आयोजनामा सम्मेलन हुने भएको हो ।
यस्तै राष्ट्रिय योजना आयोग , सुदूरपश्चिम प्रदेश सरकारको सहयोग तथा स्थानीय तह, बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र र अन्य साझेदार संस्थाको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको हो।
‘स्थानीय सम्भावनादेखि लगानीयोग्य उद्यमसम्म’ भन्ने नारासहित आयोजना हुने सम्मेलनले प्रदेशभित्र रहेका उद्यमशील प्रतिभाको पहिचान र विकाससँगै स्थानीय स्रोत तथा सीपको व्यावसायीकरण, नयाँ उद्यम स्थापना, स्थानीय मूल्य अभिवृद्धि, रोजगारी तथा आयआर्जनका अवसर सिर्जना र प्रदेशको आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य राखेको इन्क्युबेसन सेन्टरका संयोजक तथा प्रा. डा. राजेन्द्रवीर चन्दले पत्रकार सम्मेलन मार्फत जानकारी दिए।
सम्मेलनमा विश्वविद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थी, भर्खरै स्नातक पूरा गरेका व्यक्ति, युवा उद्यमी तथा प्रारम्भिक चरणका व्यवसायी, नयाँ व्यवसाय सुरु गर्न इच्छुक युवा, प्राविधिक तथा व्यावसायिक सीप भएका व्यक्ति, वैदेशिक रोजगारीबाट फर्किएका युवा तथा स्थानीय समस्या, आवश्यकता वा बजार अवसर पहिचान गरेका व्यक्तिले आवेदन दिन सक्नेछन्।
त्यस्तै नवीन तथा सिर्जनशील व्यावसायिक विचार भएका र आफ्नो सीप, स्थानीय स्रोत वा प्रविधिलाई व्यवसायमा रूपान्तरण गर्न चाहने व्यक्तिलाई समेत आवेदनका लागि खुला गरिएको छ। आवेदन दिन कम्पनी दर्ता भइसकेको, व्यवसाय सञ्चालनमा रहेको वा विस्तृत व्यवसाय प्रस्ताव तयार भइसकेको हुनुपर्ने छैन। आवेदकले आफ्नो व्यावसायिक अवधारणा, स्थानीय रूपमा देखेको समस्या, बजार अवसर, रुचिको व्यवसायिक क्षेत्र, प्राविधिक वा व्यावहारिक सीप अथवा प्रारम्भिक उद्यमको आधारमा आवेदन दिन सक्ने प्रा. डा. चन्दले बताए।
जम्मा आवेदकहरूमध्ये उत्कृष्ट ७० जना सहभागी छनोट गरी दुई समूहमा विभाजन गरिनेछ। छनोट भएका सहभागीलाई सम्मेलनअघि उद्यमशीलताको आधार, सेवाग्राही तथा उपभोक्ताको खोज, बजार अनुसन्धान, बिजनेस मोडल, वित्तीय साक्षरता, लागत तथा बजारको अवस्थालगायत विषयमा प्रशिक्षण तथा मेन्टरशिप प्रदान गरिने कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. लोक बहादुर बिष्टले बताए।
सम्मेलनबाट केवल नयाँ व्यवसायिक विचार संकलन गर्नेभन्दा पनि त्यस्ता विचारको बजारमा वास्तविक सम्भावना कति छ भन्ने पहिचान गर्ने प्रयास गरिने क्याम्पस प्रमुख डा. बिष्टले जानकारी दिए।
कार्तिक १३ देखि १५ गतेसम्म तीनदिने नवउद्यम प्रशिक्षण शिविर
छनोट भएका सहभागीका लागि कार्तिक १३, १४ र १५ गते कैलाली बहुमुखी क्याम्पस, धनगढीमा तीनदिने नवउद्यम प्रशिक्षण शिविर आयोजना हुनेछ। शिविरमा ग्राहक तथा बजार प्रमाणीकरण, व्यावसायिक मोडल तथा युनिट इकोनोमिक्स, उत्पादन विकास, बिक्री तथा डिजिटल बजार पहुँच, उद्यममा कृत्रिम बुद्धिमत्ता (एआई) तथा डिजिटल उपकरणको प्रयोग, पूँजी तथा लगानीकर्ता तयारी, परामर्श तथा मार्गदर्शन र व्यावसायिक प्रस्तुति तयारीलगायत विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिने पत्रकार सम्मेलन मार्फत जानकारी दिए।
सम्मेलनको अर्को महत्वपूर्ण पक्ष छनोट भएका सम्भावनायुक्त उद्यमलाई ९० दिने उद्यम विकास कार्यक्रममा आबद्ध गरिनु हो।
कृषि, पर्यटन, एआई र डिजिटल प्रविधिसहित विभिन्न क्षेत्र समेटिँदै
सम्मेलनमा कृषि तथा कृषि प्रशोधन, कृषिजन्य व्यवसाय, औषधीय जडीबुटी तथा प्राकृतिक उत्पादन, पर्यटन तथा आतिथ्य, डिजिटल रूपान्तरण, एआई तथा सूचना प्रविधि, प्राविधिक तथा व्यावसायिक सेवा, हस्तकला, मौलिक ज्ञान तथा सीपमा आधारित उद्यम, शिक्षा, स्वास्थ्य तथा केयर इकोनोमीलगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।
त्यस्तै समावेशी तथा डिजिटल वित्तीय सेवासँग सम्बन्धित स्थानीय आवश्यकता, स्रोत, सीप र बजार सम्भावनामा आधारित नवीन व्यावसायिक विचारलाई समेत प्रोत्साहन गरिनेछ। सुदूरपश्चिमका स्थानीय स्रोत, परम्परागत सीप र उत्पादनलाई आधुनिक प्रविधि तथा बजारसँग जोड्ने सम्भावनालाई समेत कार्यक्रमले समेटेको छ।
सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमका संयोजक डा. प्राध्यापक राजेन्द्रवीर चन्द, सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार डा. प्राध्यापक तारादत्त भट्ट, विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. प्राध्यापक केशवराज भट्ट, कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. लोकबहादुर बिष्ट, सह-क्याम्पस प्रमुख डा. मोहनसिंह साउद, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझा, व्यवसायी धर्मराज जोशी, विश्वविद्यालयका निवर्तमान पदाधिकारी तथा कैलाली बहुमुखी क्याम्पसका प्राध्यापकहरूको उपस्थिति रहेको थियो।
सुदूरपश्चिम नवउद्यमी सम्मेलन २०८३ का लागि आवेदन दिने अन्तिम मिति यहीँ असोज मसान्तसम्म तोकिएको छ। सम्मेलन कार्तिक १३, १४ र १५ गते कैलाली बहुमुखी क्याम्पस, धनगढीमा आयोजना हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन्।
पत्रकार सम्मेलनमा विश्वविद्यालयका रजिस्टर प्रा. डा. तारादत्त भट्टले सुदूरपश्चिम विश्वविद्यालय नव उद्यमीहरूलाई यसरी अनुदानसहित सीप प्रदान गर्ने पहिलो विश्वविद्यालय भएको समेत दाबी गरे। योभन्दा अगाडि पनि इन्क्युबेसन सेन्टरबाटै करिब २७ जना नव उद्यामीहरूले लाभ लिइसकेका र अहिले बजारमा समेत धेरै उद्यमीहरूले राम्रो गरिरहेका इन्क्युबेसन सेन्टरका संयोजक प्राध्यापक डा. राजेन्द्रवीर चन्दले जानकारी दिए।
७० जना आवेदकहरूमध्ये उत्कृष्ट दशलाई भने पाँच लाख रुपैयाँ फिर्ता नगर्ने गरी प्रदान गरिनेछ ।
थप जानकारीका लागि :-



Oplus_131072