धनगढी , ३ असोज / नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर अछामका कांग्रेस नेताहरूले आफ्नो प्रस्ट अडान सार्वजनिक गरेका छन्। उनीहरूले आफुहरु देउवाको पक्षमा रहेको अडान लिँदै महाधिवेशन प्रक्रिया आगामी १५ गतेदेखि अघि बढाउने निर्णय गरेका छन्।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री तथा प्रदेश सरकारका निवर्तमान सामाजिक विकासमन्त्री मेघराज खड्का, नेपाली कांग्रेस बाजुराका पूर्वपार्टी सभापति तथा अछाममा खटिएका केन्द्रीय प्रतिनिधि कबिराज पण्डित, पूर्वमाननीय तथा महाधिवेशन प्रतिनिधि अम्बिका कुमारी थापालगायत नेताहरूको सहभागितामा भएको छलफलबाट यस्तो निर्णय गरिएको हो।
छलफलमा चौरपाटी गाउँपालिका अध्यक्ष भिमबहादुर साउद, नेपाली कांग्रेस मेल्लेख गाउँकार्यसमिति सभापति खकेन्द्रबहादुर साउद, जिल्ला सदस्य सुरतबहादुर कुँवर, जिल्ला सदस्य खड्क भण्डारी, पूर्वजिल्ला सदस्य पहल खड्का, पूर्वशिक्षक संघ जिल्ला सदस्य टेकबहादुर खड्का, चौरपाटी गाउँपालिका–५ का सभापति महावीर कुँवरलगायत सहभागी थिए।
त्यस्तै युवा नेता बुद्धराज सुवेदी, चेतमान विक्रम शाह, युवा नेता तथा अधिवक्ता निराजन खड्का, नेपाल प्रजातान्त्रिक यातायात व्यवसायी संघ सुदूरपश्चिम प्रदेश सदस्य महेशबहादुर खड्का, जनसम्पर्क समिति भारतका सदस्य बालगिरी लुहार तथा युवा नेता धर्म खाती लगायतको सहभागिता रहेको जनाइएको छ।
छलफलका क्रममा महामन्त्री खड्काले अदालतले निस्सा दिइसकेको अवस्थामा कसैले पनि रुख चिह्न र चारतारे झण्डा ‘हाम्रो हो’ भनेर दाबी गर्न पाउने अधिकार नरहेको बताएका छन्।
उनले कांग्रेसको पहिचानसँग जोडिएको रुख चिह्न र चारतारे झण्डाका विषयमा अनावश्यक दाबी गर्ने अवस्था नरहेको धारणा राख्दै पार्टीको महाधिवेशन निर्धारित प्रक्रियाअनुसार अघि बढाउनुपर्ने बताएका हुन्।
महाधिवेशनलाई लिएर कांग्रेसभित्र विभिन्न धारणा सार्वजनिक भइरहेका बेला अछामका नेताहरूले भने आफूहरू महाधिवेशनको प्रक्रिया अघि बढाउने विषयमा स्पष्ट रहेको बताएका छन्।
नेपाली कांग्रेस अछाम जिल्ला सदस्य एवं सूचना, सञ्चार तथा प्रचार–प्रसार विभाग संयोजक तथा सुदूरपश्चिम युवा परिषद्का कार्यकारी सदस्य पृथ्वीबहादुर शाहले छलफलबाट १५औँ महाधिवेशन १५ गतेदेखि सुरु गर्ने निर्णय भएको जानकारी दिएका छन्।
बैठकमा सहभागी नेताहरूले पार्टीको संगठनलाई थप सुदृढ गर्दै महाधिवेशनको तयारीमा एकताबद्ध भएर अघि बढ्ने विषयमा समेत छलफल गरेका छन्।
तर यता गगन थापा पक्षले भने आजदेखि वडा तहबाट १५औं महाधिवेशनको प्रक्रिया सुरु गरेको छ।