धनगढी, ३ असोज / नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धनगढी उपमहानगरपालिका–८ को वडा सभापतिमा रामस्वरूप राना निर्विरोध निर्वाचित भएका छन्।
वडा अधिवेशनबाट सभापति रानासहित सम्पूर्ण पदाधिकारी तथा २३ जना क्षेत्रीय प्रतिनिधिसमेत निर्विरोध चयन भएको निवर्तमान वडा सभापति मोहनराज ओझाले जानकारी दिए। उनका अनुसार अधिवेशनले वडा सभापतिसँगै एक महिलासहित दुई उपसभापति, एक सचिव र वडा कार्यसमितिका सदस्यहरू निर्वाचित गरेको हो।
वडा अधिवेशनमा सभापतिसहित पदाधिकारी र क्षेत्रीय प्रतिनिधिका लागि आवश्यक संख्यामा मात्र उम्मेदवारी परेपछि सबै पदमा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको ओझाले बताए। अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले आगामी दिनमा पार्टीको संगठन विस्तार, क्रियाशील सदस्यको व्यवस्थापन तथा स्थानीय तहमा पार्टीका गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
पार्टी केन्द्रीय निर्वाचन समितिले स्थानीय अनुकूलताअनुसार आज र भोलि वडा अधिवेशन गर्न सकिने कार्यतालिका सार्वजनिक गरेसँगै नेपाली कांग्रेसको वडा अधिवेशन औपचारिक रूपमा सुरु भएको हो। सोही कार्यतालिकाअनुसार धनगढी उपमहानगरपालिका–८ मा पनि वडा अधिवेशन सम्पन्न गरिएको हो।
कांग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार गत पुस मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यले वडा अधिवेशनमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ। क्रियाशील सदस्यहरूबाट वडा नेतृत्व तथा क्षेत्रीय प्रतिनिधि चयन गर्ने प्रक्रिया पार्टीको विधानअनुसार अघि बढाइएको उनले बताए।
कांग्रेसको विधानअनुसार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाअन्तर्गतका वडाबाट निर्वाचित हुने वडा सभापतिले निर्वाचित वडा कार्यसमितिबाट कोषाध्यक्ष मनोनीत गर्न पाउने व्यवस्था छ।
धनगढी–८ मा भने वडा सभापतिदेखि पदाधिकारी र क्षेत्रीय प्रतिनिधिसम्मको चयन निर्विरोध भएपछि अधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको हो।