धनगढी, ३ असोज / नेपाली कांग्रेसभित्र पूर्वसभापति शेरबहादुर देउवा पक्ष कमजोर बन्दै जाँदा देउवाका विश्वासपात्र मानिएका नेताहरू क्रमशः सभापति गगनकुमार थापा नेतृत्वको पक्षतिर खुल्न थालेका छन्। तर सुदूरपश्चिममा भने देउवा पक्षधर मानिने पुर्व मुख्यमन्त्री तथा कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमलबहादुर शाह अझै देउवाकै पक्षमा उभिएका छन्।
पार्टीभित्रको पछिल्लो शक्ति-सन्तुलनमा देउवा निकट रहेका धेरै नेता गगन नेतृत्वको महाधिवेशन प्रक्रियामा सहभागी हुन थालेका बेला शाह भने देउवाको साथमा दृढ देखिएका छन्। पछिल्ला घटनाक्रमले कांग्रेसभित्र देउवा पक्षबाट गगन पक्षतर्फ नेताहरू जाने क्रम बढेको देखाएको छ।
सुदूरपश्चिममा भने यसको प्रभाव फरक देखिएको छ। प्रदेशमा देउवा पक्ष र गगन पक्षबीचको आन्तरिक विवाद यसअघि नै सतहमा आइसकेको थियो। मुख्यमन्त्री शाहविरुद्ध कांग्रेस संसदीय दलमा अविश्वास प्रस्तावसमेत दर्ता भएको थियो।
शाहले यसअघि धनगढीमा आयोजित देउवा पक्षको प्रदेशस्तरीय भेलामा समेत देउवाको पक्षमा आफ्नो धारणा स्पष्ट रूपमा राखेका थिए। त्यतिबेला उनले पूर्वसभापति देउवाको सम्मानमा आँच आउने कुनै गतिविधि स्वीकार्य नहुने आशय व्यक्त गरेका थिए।
कांग्रेसको केन्द्रीय राजनीतिमा देउवाका लामो समयका सहयात्री तथा विश्वासपात्र नेताहरू नै गगनतर्फ लागिरहेका बेला सुदूरपश्चिमका मुख्यमन्त्री शाह भने देउवा पक्षको जिम्मेवारी सम्हाल्ने गरी अगाडि बढेको देखिन्छ। देउवा पक्षका करिब तीन दर्जनभन्दा बढी नेता गगन नेतृत्वको संस्थापन पक्षमा समाहित भएको पछिल्लो विवरण सार्वजनिक भएका छन्।
यसले सुदूरपश्चिम कांग्रेसभित्र आगामी महाधिवेशन र पार्टीको आन्तरिक शक्ति-समीकरणलाई थप रोचक बनाएको छ। केन्द्रमा देउवा पक्षबाट नेताहरू गगनतर्फ जाने क्रम चलिरहँदा सुदूरपश्चिममा भने शाह देउवाको पक्षमा उभिएर प्रदेशमा आफ्नो राजनीतिक आधार कायम राख्ने प्रयासमा देखिएका छन्।
शाह लामो समयदेखि देउवा निकट नेताका रूपमा परिचित छन्। कांग्रेस संसदीय दलको नेताको जिम्मेवारीमा रहेका शाहका लागि पछिल्लो राजनीतिक परिस्थिति पार्टीभित्रको आफ्नो समूहगत भूमिकाका दृष्टिले पनि महत्वपूर्ण बनेको छ।
अब कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया अघि बढ्दै जाँदा सुदूरपश्चिममा शाहले देउवा पक्षको नेतृत्व कसरी सम्हाल्छन् र प्रदेशका अन्य नेताहरूको राजनीतिक धारणा कतातिर जान्छ भन्ने विषयले प्रदेश कांग्रेसको आगामी समीकरण निर्धारण गर्ने देखिन्छ।