धनगढी, २ असोज / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले आफूहरू चार महिना अगाडि मात्रै सरकारमा आउन पाएको भए प्रदेशका जनताले चाहेअनुसारको बजेट ल्याउने थिए भनेका छन्।
युवा तथा विभिन्न समुदायका मागलाई सम्बोधन गर्ने गरी प्रदेश सरकारको आगामी बजेट ल्याउने तयारी भइरहेको उनले बताए। अहिलेको समय र परिस्थिति प्रतिकूल रहेकाले आफूहरूलाई सहज अवस्था नरहेको मुख्यमन्त्री भट्टको भनाइ छ।
युवाका विविध माग बजेटमा समावेश गर्न माग गर्दै मुख्यमन्त्रीको कार्यलाय पुगेका युवाहरूसँग भएको छलफलका क्रममा मुख्यमन्त्री भट्टले बजेट युवा, अपाङ्गता भएका व्यक्ति तथा यौनिक अल्पसंख्यकसहित सबै समुदायमैत्री हुने बताए।
‘चार महिना अगाडि मात्रै हामीले सरकारमा आउन पाएको भए सुदूरपश्चिमका जनताले चाहे जस्तो बजेट ल्याउने थियौँ,’ मुख्यमन्त्री भट्टले भने, ‘अहिले समय परिस्थिति सबै प्रतिकूल भएकाले हामीलाई सहज छैन।’
उनले विगतको सरकारको तुलनामा आफ्नो नेतृत्वमा आउने बजेट जनमुखी हुने दाबीसमेत गरे। प्रदेशका सबै समुदायका आवश्यकता र मागलाई सम्बोधन गर्ने गरी बजेट निर्माणमा ध्यान दिइने उनको भनाइ छ।
युवाले रोजगारी, शिक्षा, उद्यमशीलता तथा युवासँग सम्बन्धित विभिन्न विषयलाई बजेटमा प्राथमिकता दिनुपर्ने माग राखेका थिए। छलफलमा युवाले प्रदेश सरकारको बजेट तथा नीति निर्माणमा युवाको सहभागिता र उनीहरूका सवाललाई प्राथमिकताका साथ समेट्न मुख्यमन्त्रीसमक्ष आग्रह गरेका थिए।