धनगढी, २ असोज / मदिराको बढ्दो उपलब्धता, सेवनबाट महिला तथा बालबालिकामा परिरहेको असर र यसको नियमन तथा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिकाका विषयमा धनगढीमा पत्रकार सम्मेलन गरिएको छ। सिविन नेपालको आयोजनामा बिहीबार आयोजित कार्यक्रममा मदिरा नियमन तथा नियन्त्रणका लागि सञ्चारमाध्यमले खेल्न सक्ने भूमिकाका विषयमा सञ्चारकर्मीसँग छलफल गरिएको हो। कार्यक्रममा धनगढी तथा कैलालीमा मात्र सीमित नभई सुदूरपश्चिम प्रदेशभर मदिराको अवस्था, यसबाट उत्पन्न समस्या र नियन्त्रणका लागि गर्नुपर्ने पहलका विषयमा अन्तरक्रिया गरिएको थियो।
सिविन नेपालमा कार्यरत भगवती श्रेष्ठले मदिराको उपलब्धता र सेवनबाट महिला तथा बालबालिकामा परिरहेको असरबारे बहस र सहकार्य आवश्यक रहेको बताइन्। उनले विभिन्न चाडपर्वका समयमा मात्रै नभई अन्य समयमा समेत मदिराको सेवन हुने र त्यसबाट बालबालिका तथा महिलाको अधिकारसमेत प्रभावित भइरहेको बताइन्।
सिविन नेपालले विगत दुई वर्षदेखि मदिरा नियमन तथा नियन्त्रणसँग सम्बन्धित विषयमा विभिन्न कार्यक्रम गर्दै आएको श्रेष्ठले जानकारी दिइन्। उनका अनुसार गरिएको अध्ययनका क्रममा विद्यालय नजिकै मदिराजन्य पदार्थ बिक्रीवितरण हुने गरेको र कतिपय अवस्थामा बालबालिकालाई समेत मदिरा उपलब्ध गराउने गरेको पाइएको छ।
मदिराको सहज उपलब्धता र त्यसबाट भइरहेको असरलाई सम्बन्धित क्षेत्रले बहसको विषय नबनाए भविष्यमा बालबालिकाको भविष्यमा गम्भीर असर पर्न सक्ने श्रेष्ठको भनाइ छ। मदिराको असर सबैभन्दा बढी महिला तथा बालबालिकामा परेको उनले बताइन्।
कार्यक्रममा सिविन नेपालमा कार्यरत सागर भण्डारीले बालबालिकाको अधिकार संरक्षणका सवालमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताए। बालबालिकालाई राष्ट्रिय गौरव र सम्मानका रूपमा हेर्नुपर्ने विषयमा बहस भइरहँदा उनीहरूमाथि मदिराका कारण पर्ने असरलाई नियन्त्रण गर्न पनि सञ्चार क्षेत्रबाट निरन्तर आवाज उठाउनुपर्ने उनको भनाइ थियो।
भण्डारीका अनुसार बालबालिकामाथि हुने यौन दुर्व्यवहार र घरेलु हिंसाका घटनामा समेत मदिरा सेवन एउटा कारणका रूपमा देखिने गरेको छ। मदिरा नियन्त्रणका लागि विभिन्न कानुनी व्यवस्था भए पनि व्यवहारमा प्रभावकारी नियन्त्रण हुन नसकेको उनले बताए।
सरकारले लागू गरेको मदिरा ऐन, २०३१ ले मदिरा व्यवसायको दर्ता, इजाजत तथा बिक्रीवितरणलाई नियमन गर्ने व्यवस्था गरे पनि यसको कार्यान्वयन मुख्यतः राजस्व संकलनसँग जोडिएको विषयमा केन्द्रित रहेको कार्यक्रममा चर्चा गरिएको थियो।
विश्व स्वास्थ्य संगठन र नेपाल सरकारद्वारा सन् २०१९ मा गरिएको नेपाल गैरसङ्क्रामक रोग जोखिम कारकहरूको सर्वेक्षण ले नेपालमा मदिरा सेवनको अवस्थालाई समेत उजागर गरेको छ। सर्वेक्षणअनुसार १५ देखि ५९ वर्ष उमेर समूहका २३.९ प्रतिशत वयस्कले हाल मदिरा सेवन गर्ने गरेको पाइएको छ। त्यसमध्ये ३८.६ प्रतिशत पुरुष र १०.८ प्रतिशत महिला रहेका छन्।
त्यस्तै, आवधिक रूपमा अत्यधिक मदिरा सेवन गर्ने वयस्कको संख्या ६.८ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ। पुरुषतर्फ यस्तो सेवन गर्नेको हिस्सा १२.४ प्रतिशत र महिलातर्फ १.७ प्रतिशत रहेको छ। सर्वेक्षणमा हाल मदिरा सेवन गर्ने व्यक्तिमध्ये २८.४ प्रतिशत आवधिक तर अत्यधिक मदिरा सेवनमा संलग्न रहेको देखिएको छ। यसमा पुरुषको हिस्सा ३२.४ प्रतिशत र महिलाको १६.२ प्रतिशत रहेको तथ्याङ्क छ।
सर्वेक्षणले मदिराको अर्को महत्वपूर्ण पक्षसमेत देखाएको छ। पछिल्लो ३० दिनमा मदिरा सेवन गरेका व्यक्तिमध्ये पछिल्लो सात दिनमा रेकर्ड नभएको वा अभिलेखमा नआउने मदिरा सेवन गर्नेको कुल हिस्सा ६८.५ प्रतिशत रहेको पाइएको छ। यसमा पुरुषको हिस्सा ६५.३ प्रतिशत र महिलाको ७७.३ प्रतिशत रहेको तथ्याङ्क कार्यक्रममा प्रस्तुत गरिएको थियो।
मदिरा सेवनको यही अवस्था, यसको सहज उपलब्धता र त्यसबाट महिला तथा बालबालिकामा पर्न सक्ने सामाजिक असरलाई ध्यानमा राख्दै यसको नियमन तथा नियन्त्रणका लागि सरकार, नागरिक समाज, समुदाय र सञ्चारमाध्यमबीच सहकार्य आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो।
विशेषगरी विद्यालय तथा बालबालिका रहने क्षेत्र आसपास मदिराको बिक्रीवितरण नियन्त्रण, बालबालिकालाई मदिराबाट टाढा राख्ने वातावरण निर्माण तथा मदिरा सेवनबाट हुने हिंसालगायतका घटनाबारे निरन्तर सार्वजनिक बहस सिर्जना गर्न सञ्चारमाध्यमको भूमिका प्रभावकारी हुन सक्ने सहभागीहरूले बताएका थिए।