धनगढी, १७ भदौ/भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि धनगढीका विभिन्न टोलबाट सहयोग जुट्न थालेको छ ।
यसैक्रममा कैलालीको धनगढी उपमहानगरपालिका १५, कनरीस्थित बसन्त टोलका स्थानीयवासीले चन्दा संकलन गरी २० हजार १ सय २५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् ।
देशमा विपत्ति आइपरेका बेला पीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै टोलवासीले स्वस्फूर्त रूपमा राहत संकलन अभियान सञ्चालन गरेको टोलका अगुवा केशवराज जोशीले जानकारी दिए ।
उनका अनुसार टोल अध्यक्ष गोरखबहादुर कन्जेडाको नेतृत्वमा सञ्चालन गरिएको अभियानमा स्थानीयवासीले आफ्नो क्षमता र इच्छाअनुसार सहयोग गरेका थिए । अभियानमा न्यूनतम १ सय ५० रुपैयाँदेखि आफ्नो दक्षताअनुसार रकम संकलन गरिएको जोशीले बताए ।
संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी बाढी प्रभावितको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्य राखिएको टोलवासीले बताएका छन् ।