धनगढी, १५ भाद्र/कैलालीको गौरीगंगा नगरपालिका–१० मा रहेको नुक्लीपुर सामुदायिक होमस्टेमा थारू समुदायको खानाको परिकार ‘ब्राण्डिङ’ गर्न अटवारी खानपिन उत्सव हुने भएको छ । थारु समुदायको महत्वपूर्ण पर्व अटवारीको अवसरमा उक्त कार्यक्रम हुने भएको हो । आयोजकका अनुसार भदौ २७ गते शनिबार आयोजना हुने कार्यक्रममा स्थानीय मौलिक थारू परिकारका साथै विभिन्न सांस्कृतिक प्रस्तुति राखिनेछ।
कार्यक्रममा ५०० रुपैयाको प्याकेजमा अन्डिक रोटी, खुमी, खैरिया, फुलौरी, उरहडे कुशा, स्थानीय माछी तथा थारु मदिरा, लगायतका सात प्रकारका खानाका परिकार उपलब्ध गराइने नुक्लीपुर सामुदायिक होमस्टेका अध्यक्ष दिनेश दहितले जानकारी दिए ।
त्यसैगरी कार्यक्रममा डेढ घण्टाको सांस्कृतिक नाच समेत प्रस्तुत गरिनेछ। थारू सखिया नाच, कलाकार नाच तथा कलाकार गायन कार्यक्रमका मुख्य आकर्षण रहनेछन्। आयोजकका अनुसार बँदेलको मासु, स्थानीय कुखुरा, घोंगीलगायतका थप परिकार भने अतिरिक्त शुल्कमा उपलब्ध हुनेछन्।